Loading... आजः ४ कार्तिक २०७७, मंगलवार

त्रिपुराकोटमा ‘एक घर एक धारा’, दूषित पानी पिउनुपर्ने बाध्यताबाट मुक्त

त्रिपुराकोटमा ‘एक घर एक धारा’, दूषित पानी पिउनुपर्ने बाध्यताबाट मुक्त


डोल्पा । यहाँको त्रिपुरासुन्दरी नगरपालिका–१ मा पर्ने त्रिपुराकोटवासीलाई अब पुस्ताँैदेखि खोलाको दूषित पानी पिउनुपर्ने बाध्यताबाट मुक्त भएका छन् । पञ्चवर्षीय योजनाका रूपमा काम शुरु गरिएको बुराउँसे खोला खानेपानी आयोजना सम्पन्न भएपछि त्रिपुराकोटका १०० घरधुरी दूषित पानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा पाएका हुन् ।
‘सयौँ वर्षअघिदेखि सिधै खोलाको पानी पिउनुपर्ने बाध्यता थियो, अहिले नौ हजार मिटर टाढा बुराउँसे खोलाबाट स्वच्छ खानेपानी वडा नं १ का सबै घरमा आपूर्तिहुन्छ,’ त्रिपुरासुन्दरी–१ का दिलीप गिरीले भने, ‘योभन्दा अगाडि खोलाबाट आएको बालुवायुक्त पानी पिउनुपर्ने बाध्यता थियो, दूषित पानी प्रयोग गरेकै कारण गाउँमा टाइफाइड, झाडापखाला, रुघाखोकी, आउँका बिरामी धेरै हुन्थे ।’
‘वर्षात्को समयमा खोलाबाट फोहर पानी आउँदा ठूलो समस्या हुन्थ्यो, सफा पानीका लागि घण्टाँै लगाएर मूलको खोजी गर्दै वनतिर जानुपर्ने बाध्यता थियो, धेरैजसो सर्वसाधारण त्यही दूषित पानी प्रयोग गर्थे, अहिले घरमै चौबीसै घण्टा स्वच्छ पानी आउँछ, नियमित सरसफाइ गर्न पनि सजलो भएको छ,’ त्रिपुराकोट गल्लीका भैरम शाहीले भने ।
‘अहिले गल्लीवासीलाई पनि आधाघण्टा लगाएर गाग्रीमा पानी बोकेर ल्याउनुपर्ने बाध्यता छैन, स्वच्छ खानेपानीको सहज आपूर्ति भएकाले शौचालयको प्रयोगमा पनि सजिलो भएको छ,’ उनले भने । वैशाख १ गतेदेखि त्रिपुराकोटका १०० घरमा स्वच्छ खानेपानी आपूर्ति भएको छ । सो आयोजना अनुदान र श्रमदान गरेर रु ६० लाखको लागतमा निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष पुरीप्रसाद हमालले बताए ।
‘अहिले त्रिपुराकोटका १०० घरमा एक घर एक धारा छ, नौ हजार मिटर टाढाबाट बीच बीचमा कडा चट्टान कटान गर्दै पाइपलाइन विस्तार गर्न कम चुनौती थिएन,’ उनले भने । निर्माण समितिको कडा मेहनतलदे त्रिपुराकोटवासीलाई पुस्तौँदेखिको दूषितपानी पिउनुपर्ने बाध्यताबाट छुट्कारा मिल्नुका साथै जिल्लामै नमूना योजनाका रूपमा काम सफल भएको अध्यक्ष हमालले बताए ।