Loading... आजः १० कार्तिक २०७७, सोमबार

पाताल भूमेश्वरको यात्रादेखि हिमश्रृंखला दृश्यावलोकनसम्म, तर संरक्षण नहुँदा ओझेलमा

पाताल भूमेश्वरको यात्रादेखि हिमश्रृंखला दृश्यावलोकनसम्म, तर संरक्षण नहुँदा ओझेलमा


बैतडी । संरक्षण तथा प्रचारप्रसार हुन नसक्दा बैतडीमा रहेको प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र पाताल भूमेश्वर ओझेलमा परेको छ । गुफा, तलाउ र मन्दिर रहेको सुर्नया गाउँपालिका– २ बासुलिंगमा रहेको पाताल भूमेश्वर प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । पाताल भूमेश्वर ४ सय हेक्टरमा वन क्षेत्रमा फैलिएको छ ।
यो क्षेत्रमा अवस्थित नेपालकै गहिरो पाताल भूमेश्वर गुफा समेत ओझेलमा परेको स्थानीय भजन विष्ट बताउँछन् । उनका अनुसार पाताल भूमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन् । दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भूभागमा रहेका पाताल भूमेश्वरको प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ ।
बैतडी सदरमुकामबाट १८ किलोमिटर पूर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पाताल भूमेश्वर पुगिन्छ । पाताल भूमेश्वर गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरीहरु रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृश्यावलोकन गर्न सकिन्छ । गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिँड्नुपर्छ ।
त्यसपछि फराकिलो ठाउँमा गुफा–चौराहा आउँछ । यसमध्ये पूर्वतर्फको फराकिलो बाटो हिँडेर चट्टानले बनेका विभिन्न वस्तुको अवलोकन गर्न सकिन्छ । गुफा आसपासमा महादेव मन्दिरका साथै पोखरी रहेका छन् भने गुफा कतै साँघुरो र कतै फराकिलो रहेको छ । पाताल भूमेश्वरको मुख्य आकर्षण सदाबहार जंगलको बिचमा रहेको कहिल्यै नसुक्ने तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थित पाताल भूमेश्वर एक तीर्थस्थल पनि हो ।
यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भए पनि प्रचारप्रसार हुन सकेको छैन । पाताल भूमेश्वर वरवरको वन क्षेत्रमा बेवारिसे अवस्थामा छोडिने चौपायाहरु जथाभावी तलाउमा पस्ता पानी फोहोर हुदै गएको स्थानीय तिलक विष्ट बताउँछन् । केही समयअघि तत्कालीन जिल्ला विकास समितिले पाताल भूमेश्वर गुफाभित्र ७५ मिटरसम्म विद्युतीकरण गरेको भए पनि संरक्षण र संवर्धन गर्ने कोही नभएका कारण तार चोरी हुनका साथै जीर्ण बनेका छन् ।


पाताल भूमेश्वरको महिमा
पाताल भूमेश्वर, स्वस्थानी व्रतकथासँग सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । आराध्यदेव शिव अर्धा्ङ्गिनी सतीदेवीसँगको बिछोडका बेला विभिन्न ठाउँ घुम्दै पाताल भूमेश्वरमा आइपुगेको जनविश्वास रहेको पाताल भूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए । ‘महादेवले सतीदेवीको शरीर बोकेर हिँड्दा यो क्षेत्रमा पैताला पतन भएको किम्वदन्ती छ,’ उनले भने ।
घुम्दै आएका शिव थाकेपछि पाताल भूमेश्वरमा विश्राम लिदाखेरी त्रिशूल गाडेको ठाउँमा गुफा भएका हुन् । यसका साथै परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहुँ एउटा गाई एक स्थान गएर आफैँ दूध दिने गरेको किंवदन्ती पाइन्छ । सो ठाउँमा गएर हेर्दा शिवलिंग पाइएको र पछि त्यहाँ महादेवको मन्दिर बनाइएको विश्वास गरिन्छ । शिवको विश्रामस्थल भएकाले यहाँ दर्शन गर्न आउने भक्तजनहरुको मनोकांक्षा पूरा हुने जनविश्वास छ ।
प्राकृतिक सौन्दर्यले भरिपूर्ण, पाताल भूमेश्वरमा चारैतिर डाँडाकाँडा, मनमोहक दृश्य देखिन्छ । हरेक पर्वमा पूजाआजा गरिने पाताल भूमेश्वर मन्दिरमा महाशिवरात्रि र रामनवमीमा विशेष मेला लाग्छ । यो क्षेत्र विवाह बन्धनमा बाँधिने थलोका रूपमा पनि प्रसिद्ध छ । मन्धिरे नामका स्थानीय महात्मा दुई दशकअघिदेखि पाताल भूमेश्वर मन्दिरमा बस्दै आएका थिए र उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो ।
यस क्षेत्रको रेखदेख गर्दै आएका महात्माको निधन भएपछि एक दशकदेखि पाताल भूमेश्वर गुफा, तलाउ र मन्दिर अस्तव्यस्त भएका छन् । ‘पर्यटक भित्र्याउन सरकारी तथा गैरसरकारी संघसंस्था, व्यक्ति तथा समाजबाट सहयोगको याचना गरिरेहेका छौ’, पाताल भूमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्टले भने, ‘प्रचारप्रसार गर्न सके यो विश्वसम्पदा सूचीमा पर्न सक्छ ।’


नेपालकै गहिरो गुफा
यहाँ प्राचीन कालदेखिको एउटा ठूलो गुफा रहेको छ । गुफाको अन्तिम बिन्दुमा दूधको धारा रहेको जनविश्वास छ । बैतडीस्थित पाताल भूमेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी रहेको छ । केही वर्षअघि इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पाताल भूमेश्वर गुफाको गहिराइ १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो ।
आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियोे । यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो । दुसेनको अध्ययन टोलीले पाताल भूमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्री स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो । संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवर्धन केन्द्रको पहलमा पाताल भूमेश्वरको अध्ययन गरेका थिए ।


पर्यटनको सम्भावना
उत्तरपट्टि लहरै मिलेका अपि सैपाल हिमश्रृंखलाको नजिकबाट अवलोकन गर्न सकिने पाताल भूमेश्वरमा लालीगुँरासको घना जंगल रहेकाले फागुन, चैतमा राताम्मे दृष्य मनमोहक बन्ने गर्दछ । त्यस्तै वैशाख जेठदेखि असारसम्म रुखबाट ताजै काफल टिपेर खान मिल्ने यो क्षेत्रलाई प्रचार प्रसारमा ल्याउन सके आन्तरिक र बाह्य पर्यटनको ठूलो सम्भावना रहेको स्थानीय कपिल केसीको भनाइ छ । सीमावर्ती झुलाघाट नाकाबाट यातायात सञ्चालन र पाटन विमानस्थललाई सुचारु गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने देखिन्छ ।
यहाँको धार्मिक महत्त्वका साथै यस क्षेत्रको प्राकृतिक आकर्षणबारे प्रचारप्रसार गर्ने र त्यसै अनुरुप भौतिक पूर्वाधारको विकास गर्न सके बैतडीको पाताल भूमेश्वर र यसै वरपर रहेका ग्वाल्लेक केदार, रौलेश्वर, त्रिपुरासुन्दरी, निगलासैनी, सिगास धुरा, दोगडा धाम, मेलौली भगवतीलगायतका स्थल पर्यटकीय गन्तव्य बन्न सक्छन् ।