Loading... आजः १३ कार्तिक २०७७, बिहीबार

खोटो संकलन कार्यले सुक्दै र मर्दै सल्लाका रुख

खोटो संकलन कार्यले सुक्दै र मर्दै सल्लाका रुख


बाँके । खोटो संकलन गरेपछि सल्लाका रुख बेकामे बन्दै गएका छन् । प्रावधानविपरीत काण्डमा खोपेर खोटो निकालेपछि हरिया बोटबाट विस्तारै सुक्ने र मर्न थालेका छन् । सामान्य चोट लगाएर संकलन गर्नुपर्नेमा चारैतिर खोपेपछि बोट मर्न थालेका हुन् । खोटो संकलनबाट तत्काल आर्थिक लाभ लिन सकिने भए पनि दीर्घकालीन असर देखिन थालिसकेको छ ।
सामुदायिक वनमा खोटो निकालिएका सल्लाले थप प्रतिफल दिन नसक्ने बनेका छन् । तागतिलो चोप झिकेपछि काठ कमसल बन्छन् । दाउरा बाल्दा समेत ढोडजस्तै ह्वारह्वार्ती डढ्ने गर्छ । एक बोटबाट लगातार ५ वर्ष खोटो निकाल्न सकिने भए पनि एकदेखि दुईपटक झिकिएका अधिकांश बोट विस्तारै नाँसिन थालेका छन् ।
चोप अत्याधिक झार्नका लागि हानीकारक एसिड प्रयोग गरिने हुँदा चाँडै नष्ट हुन थालेका छन् । खोटो संकलनका लागि प्रारम्भिक वातावरण परिक्षण (आइइइ) गरेर सामुदायिक वनलाई जिल्ला वनको स्वीकृति दिएपछि खोटो कम्पनीले संकलन गर्दै आएका छन् । तर मापदण्ड मिचेर खोटो निकालेपछि बोट मक्किँदै गएका छन् । हावाहुरी र भारी बर्षातको समयमा आफैं भाँच्चिने गर्छन् ।
संरक्षित र साना बिरुवा जोगाएर ३६ इन्च गोलाईमाथिका बोटमा मात्र खोटो निकाल्न पाइने प्रावधान रहे पनि पालना भएको छैन । कम्पनीवालाले अलि भित्री जंगलका सबैजसो बोटबाट, चारैतिरै चिरेर खोटो संकलन गर्दै आएका छन् । खोटो संकलन कार्यविधि निर्देशिका २०६४ बमोजिम आइइइ गरिएका जंगलमा असर गर्न नपाउने भए पनि फाइदा लुट्नका लागि वनपैदावरको अनियन्त्रित दोहन भइरहेको छ ।

‘बोट हराभरा हुनै पाउँदैन, हदै भएछ भने दाउरा होला तर काठ काटेर प्रयोग गर्न सकिदैन, जंगल मासिन्छ,’

यसले भविष्यमा बाढी, पहिरो, भूक्षय जस्ता विपत्ती आइपर्ने सम्भावना बढेको छ । जंगल नासिने तथा वनसम्पदा संकटमा पर्ने स्थानीय जाजरकोट शिवालयका स्थानीय प्रविण शाहले बताए । असार, साउनको सिजन नभनी निरन्तर आठ महिनासम्म खोटो तानेपछि सुख्खा मौसममा बोट झन् सुकेर जान्छ । ‘बोट हराभरा हुनै पाउँदैन, हदै भएछ भने दाउरा होला तर काठ काटेर प्रयोग गर्न सकिदैन, जंगल मासिन्छ,’ शाहले भने ।


जीविकाका लागि आर्थिक उपार्जन गर्न सकिने लोभले खोटो झिक्न दिएका सामुदायिक वनका खोटेसल्ला दिनदिनै रोगाउन र मर्न थालेपछि उपभोक्ता निराश बन्न थालेका छन् । जलवायु परिवर्तन र जंगल खण्डहर हुने डर छ । अनुगमनका लागि सबै ठाउँमा कर्मचारी नजाने र नमुना अनुगमनमा सही रिपोर्ट आएपनि अलि भित्री जंगलमा ऐन मिच्दै खोटो संकलन भइरहेको छ । चैत्रदेखि कात्तिक महिनासम्म खोटो निकाल्छन् ।
हिउँदको महिनामा उत्पादित खोटो प्रशोधनका लागि बाहिर निर्यात गर्छन् । पश्चिम नेपालका जाजरकोट, सुर्खेत, दैलेख, अछाम, डडेल्धुरा, बैतडी, बझाङ, डोटी, रुकुम, सल्यान लगायतका जिल्लाहरुमा विभिन्न कम्पनीहरुले खोटो संकलन गर्दै आएका छन् । यी जिल्लाहरुमा करिब ४० वर्षदेखि निरन्तर खोटो संकलन हुँदै आइरहेको छ । जसका कारण पश्चिम नेपालका सल्लेरी वनहरु विनाश हुने अवस्थामा पुगेका छन् ।
सल्लेरी वन जोगाउन खोटो संकलन कार्य रोक्नु पर्ने वातावरणकर्मीहरुले सुझाव दिँदै आए पनि राज्यले नै त्यसलाई रोक्न सकेको छैन । जथाभावी खोटो संकलन गर्दा पश्चिम नेपालका अधिकांश वनमा भएका सल्लाका रुखहरु सुकिसकेका छन् भने केही रुख सुक्ने अवस्थामा पुगेका छन् । लामो समयदेखि निरन्तर रुपमा खोटो संकलन गर्दा सल्लाका रुखमा रिल लगाउनका लागि खाली ठाउँ नहुँदासम्म पनि खोटो संकलन कार्यलाई भने निरन्तरता दिएको पाइन्छ ।

एउटा रुखमा दुई वा दुईभन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने गरेको वन संरक्षणकर्मीहरु बताउँछन् ।

खोटो संकलनले केही उपभोक्ताबाहेक वन उपभोक्ता समिति र अन्यलाई खासै फाइदा नहुने र वनमात्रै विनाश भइरहेको बताउँछन्, चिङ्गाड गाउँपालिका मटेलाका भीमबहादुर नेपालीले बताए । खोटो संकलन कार्यले सल्लाको वन नासिन थालेपछि उपभोक्ता चिन्तित बनेका छन् । लामो समयदेखि निरन्तर खोटो संकलन कार्यले सल्लाको वन संकटमा परी विनाश थालेपछि खोटो झिक्ने कार्यलाई रोक लगाउने केही अभियान पनि सञ्चालन भए ।
लामो समयसम्म खोटो संकलन भइरहेका रुखको अवस्था हेरेर खोटो संकलन बन्द गर्नुपर्ने भए पनि त्यासो हुन नसक्दा बन विनास भइरहेको नेपालीको भनाई छ । खोटो संकलन उद्योगले खोटो संकलन निर्देशिकाको पालनासमेत नगरेको वन अधिकारकर्मीहरु बताउँछन् । एउटा रुखमा दुई वा दुईभन्दा बढी पिघ लगाउने, रुखको वरिपरि सरसफाइ नगर्ने, माउ रुखबाट समेत खोटो संकलन गर्ने गरेको वन संरक्षणकर्मीहरु बताउँछन् ।
पुरानो घाउलाई पोत्नु पर्ने र वृक्षरोपण कार्य पनि गर्नुपर्ने भए पनि कुनै कार्य नगरेको र गमलासमेत रुखमा नै भेटिने गरेको वन सम्वद्ध कर्मचारीहरुको भनाई छ । संकलित खोटो सडक कालोपत्र गर्ने कार्यमा प्रयोग गरिन्छ । खोटो संकलन गरिसकेको रुखको घाउलाई पोत्नुपर्ने भए पनि त्यसो गरेको भने पाइएको छैन । रुखमा लागेको घाउलाई नपोत्दा रुख नै सुकेर जाने गरेको सल्लेरी वनमा देख्न पाइन्छ ।
जथाभावी रिल लगाउन नपाउने भए पनि खोटो संकलकले आफ्नो फाइदाका लागि जथाभावी रुखमा खोप्ने र खोटो निकाल्ने गर्नाले रुख सुकेर जानुका साथै वन नै सखाप हुने चिङ्गाड गाउँपालिकाका भीमबहादुर रानाले बताए । सीमित व्यक्ति र कम्पनीका स्वार्थका कारण अधिकांश वन सखाप हुने भएकाले वन जोगाउनका लागि खोटो संकलन कार्यलाई रोक्नु पर्ने वा व्यवस्थित गरिनुपर्ने रानाको भनाई छ । खोटो संकलन गर्नेहरुले गलत प्रविधि प्रयोग गरेर मापदण्ड विपरित खोटो निकालेर रुखहरु सुक्ने अवस्थामा पुगको उनले बताए ।