स्वीमिङ पुलसहित दोब्बर ठूलो बन्दै बुलबुले ताल


सुर्खेत । फराकिलो ताल, नजिकै स्वीमिङ पुल । नुहाउनका लागि छुट्टै धारा, पिकनिक पार्कसहित मनोरम उद्यान । तालमा नियमित डुंगा सञ्चालन हुनेछन् । हेर्नका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु ओइरिनेछन् ।
सुर्खेत उपत्यका नगर विकास समितिले बनाएको गुरुयोजनाको परिकल्पना हो, यो । ‘हेर्न लायक बुलबुले’ बनाउने लक्ष्यसहित नगर विकास समितिले बुलबुले विकास गुरुयोजना सार्वजनिक गरेको छ । गुरुयोजनामा बुलबुलेको स्तरोन्नति गरी आकर्षक पर्यटकीय गन्तव्य बनाउने परिकल्पना गरिएको छ ।
पछिल्लो समय बुलबुले उद्यान व्यवस्थापनलाई तीव्र पारेको सुर्खेत उपत्यका नगर विकास समितिले गुरुयोजना बनाएर काम अघि बढाएको हो । ३१ बिघा १४ कट्ठा क्षेत्रफलमा फैलिएको बुलबुले उद्यानलाई व्यवस्थित गर्न गुरुयोजना निर्माण गरिएको नगर विकास समितिले जानकारी दिएको छ ।


दोब्बर ठूलो ताल
गुरुयोजनाको परिकल्पना अनुसार बुलबुले ताल अहिलेको भन्दा दोब्बरले ठूलो हुनेछ । जिल्लाको सबैभन्दा महत्वपूर्ण पर्यटकीय स्थलका रुपमा रहेको बुलबुले ताललाई फराकिलो बनाउने योजना समितिले बनाएको हो । डुंगा सञ्चालनमा ल्याउने गरी ताललाई फराकिलो बनाइने भएको हो ।
ताललाई ३ दशमलव ५ बिघा क्षेत्रफलमा विस्तार गर्न लागिएको हो । तालको पूर्वतर्फ खाली रहेको भूभागलाई कटान गरिने भएको छ । पश्चितर्फ ताल फराकिलो बनाउँदा रुख र प्राकृतिक सम्पदाहरु मासिने भन्दै पूर्वतर्फ विस्तार गरिने भएको हो । हाल तालको क्षेत्रफल १ दशमलव ७५ बिघा मात्रै छ ।


नियमित डुंगा सञ्चालन
पर्यटकहरुलाई आकर्षित गर्न तालमा नियमित डुंगा सञ्चालन गर्ने योजना पनि समितिले बनाएको छ । ताल अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई डुंगामार्फत मनोरञ्जन प्रदान गर्ने उद्देश्यले तालमा नियमित डुंगा सञ्चालन गरिने भएको हो । विगतमा पनि पटकपटक डुंगा सञ्चालन गरिए पनि नियमित हुन सकेको छैन । तर अब भने तालको क्षेत्रफल विस्तार गरी नियमित रुपमा डुंगा सञ्चान गरिने जनाइएको छ ।


१० वटा ‘पिकनिक स्पट’
सार्वजनिक गुरुयोजना अनुसार बुलबुले उद्यानभित्र १० ‘पिकनिक स्पट’ बनाइने भएको छ । जिल्लाभित्रका साथै बाह्य जिल्लाहरुबाट समेत हरेक वर्ष बुलबुलेमा पिकनिक खानका लागि आउनेहरुको भिड लाग्ने गर्दछ । अव्यवस्थित रुपमा हुने पिकनिकलाई व्यवस्थित गर्न बेग्लाबेग्लै १० वटा पिकनिक पार्क बनाउने योजना समितिले अघि सारेको हो ।
उद्यानभित्र पिकनिक पार्क, मन्दिर क्षेत्र र प्रवेश क्षेत्र गरी तीन क्षेत्रमा विभाजन गरिएको छ । जसअनुसार पार्कभित्रै पिकनिक पार्क स्थापना गर्न लागिएको हो । यसले अव्यवस्थित रुपमा आयोजना हुने पिकनिकलाई व्यवस्थित गर्न सहयोग पुग्ने अपेक्षा समितिले गरेको छ ।


स्वीमिङ पुल निर्माण
गुरुयोजनामा स्वीमिङ पुलको समेत अवधारणा अगाडि सारिएको छ । खुल्ला रुपमा नुहाउँदा बुलबुले तालको शोभामा असर परेको भन्दै उद्यान क्षेत्रभित्रै स्वीमिङ पुल निर्माण गरिने समितिले जनाएको छ । यस्तै, उद्यान भित्र प्रवेशसँगै ठाउँठाउँमा भेला भएर बस्न मिल्ने पार्क, दोस्रो गेटबाहिर पार्किङ स्थल, विभिन्न स्थालमा वृक्षारोपण गरी हरियाली बनाइने भएको छ ।
बुलबुले तालभित्र रहेका १० वटा धारालाई समेत व्यवस्थित गरिने भएको छ । सबै धार्मिक क्रियाकलापहरुलाई व्यवस्थित गर्न धार्मिक क्षेत्र नै तोकिने समितिले जनाएको छ । बालबालिकाका लागि बालपार्क, हेर्न लायक बुलबुले बनाउन समितिले गुरुयोजना सार्वजनिक गरेको हो । विगतमा संरक्षण अभावले अस्तव्यस्त बनेको बुलबुले उद्यान क्षेत्र व्यवस्थित बनाउन थालिएको छ ।


साढे ३१ करोड लाग्ने
आर्किटेक्ट डिजाइन सेन्टरले तयार पारेको गुरुयोजना अनुसार बुलबुलेलाई आकर्षक बनाउन करिब ३१ करोड ७३ लाख ३२ हजार रुपैयाँ लागत लाग्ने बताइएको छ । बुलबुलेको प्राकृतिक स्वरुपमा असर नपर्ने गरी उद्यानलाई व्यवस्थित बनाइने डिजाइन सेन्टरका सुमन महर्जनले बताए । हाल बुलबुलेको स्वरुप कल्पना गरे जस्तो नभएको भन्दै उनले व्यवस्थापनका लागि स्थानीय, प्रदेश र संघ सरकारले प्राथमिकता दिनुपर्नेमा जोड दिइरहेका छन् ।
आर्थिक अभावका बीच सार्वजनिक गरिएको गुरुयोजना कार्यान्वयनका लागि चुनौतीपूर्ण बनेको उनले बताए । कर्णाली प्रदेशका पर्यटकीय सम्पदाहरुको फोटोहरुसमेत पार्कभित्र अवलोकनको व्यवस्था मिलाइने भएको छ । हाल उद्यान व्यवस्थापनका लागि बजेट अभाव रहेको सुर्खेत उपत्यका नगर विकास समितिका सभापति नारायण कोइराला बताउँछन् ।

प्रतिक्रिया

धेरै पढिएको