चैत मसान्तको बजारमा झिनो अंकको बढोत्तरी, बैशाखदेखि बढ्ला ?


काठमाडौं । नागबेलीको चालमा कुदेको बुधबारको बजार बन्द हुँदा झिनो अंकको बढोत्तरी भएको छ । यो दिन नेप्से परिसूचक ३.१ अंकले बढेर १२७३.३३ विन्दूमा पुुगेको हो । नेप्से परिसूचकमा झिनो मात्र बढोत्तरी भए पनि कारोबार रकम भने मंगलबारको तुलनामा थप घटेको छ । बजार परिसूचकमा झिनो मात्र बढोत्तरी हुनु र कारोबार रकम अझ घट्नुुले बजारमा चैत मसान्तको प्रभाव परेको देखिन्छ ।
बीचको केही समय सक्रिय भई सस्तोमा सेयर किनेका लगानीकर्ता अहिले तेश्रो त्रैमासको बित्तीय विवरण पर्खिएर बसेका छन् । बैशाखदेखि सूचिकृत कम्पनीहरुले प्रकाशन गर्न थाल्ने रिपोर्टका आधारमा कतिपयले खरीद रणनीति तय गर्ने भएकोले बजारमा तत्काल कुनै चमात्कार भई उछाल आउने अवस्था देखिँदैन । बजारको पछिल्लो प्रवृतिले समेत बजारमा दिगो वृद्धिको आशा गर्ने ठाउँ देखिदैन ।
यसरी हेर्दा तेश्रो त्रैमासको बित्तीय विवरणबाट बजारमा केही प्रभाव पर्न सके पनि बजारमा कुन दिशामा अगाडि बढ्छ भन्ने कुराको छिनोफानो आगामी बजेट र त्यसमार्फत सरकारले लिने बजार नीतिले निर्धारण गर्ने विज्ञ बताउँछन् । केही समय ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ताको अलमलका कारण बुधबार ४ समूहको सूचकमा गिरावट आयो भने ५ समूहको सूचक वृद्धि भयो ।
होटल समूह १७.१४ अंकले घट्यो भने विकास बैंक समूह ८.६१, बित्त समूह ३.३४ र अन्य समूह १.८४ अंकले घटे । यो दिन बैकिङ समूह ३.२७ अंकले बढ्यो भने बिमा, माइक्रोफाइनानस, जलविद्युत समूहमा क्रमशः ४२.१, ४.७२ र १०.०२ अंकको बढोत्तरी देखियो । यो दिन उत्पादनमूलक १२.६ अंकले बढ्यो । बुधबार ‘क’ वर्गका कम्पनीहरुको कारोबार मापक सेन्सेटिभ इण्डेक्स ०.५ अंकले बढ्यो भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा ०.२४ अंकको झिनो बढोत्तरी देखियो ।

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १५८ कम्पनीका ८ लाख ५९ हजार २८२ कित्ता सेयर २८ करोड ८४ लाख ७८ हजार ७७२ रुपैयाँमा किनबेच भयो । यो दिन सबैभन्दा बढी नवील बैंकको ३ करोड ५१ लाख बढीको संस्थापक सेयरको किनबेच भयो । यस्तै, ओम डेभलपमेन्ट बैंकको २ करोड ९६ लाख बढीको सेयर किनबेच भएको बजारमा स्ट्याण्डर्ड चार्टर्डले ८५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले ८० लाख, नवील बैंकले ७९ लाख, सूर्या लाइफ इन्स्योरेन्सले ७६ लाख, एनएमबी बैंकले ७५ लाख, नेशनल माइक्रोफाइनान्स बित्तीय संस्थाले ७२ लाख, सानिमा माई हाइड्रोले ६६ लाख र नेपाल इन्भेष्टमेन्ट बैंकले ५८ लाख बढीको कारोबार गरे ।

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन नेपाल हाइड्रो डेभलपर्स लिमीटेडले सबैभन्दा धेरै कमायो । यो कम्पनीको सेयर मूल्य ६.३२ प्रतिशतले वृद्धि भयो । स्वदेशी लघुवित्तको सेयरमूल्य समेत ६ प्रतिशतको हाराहारीमा बढ्यो । यो दिन सबैभन्दा बढी हिमालयन डिस्टीलरी लिमीटेडका लगानीकर्ताले गुमाए । यो कम्पनीको सेयर मूल्य ५.३८ प्रतिशतले घट्यो । यस्तै, गोर्खाज फाइनान्सको सेयर मूल्य समेत ५ प्रतिशतकै हाराहारीमा घट्यो ।

प्रतिक्रिया

धेरै पढिएको