विपन्न वर्गका बोटे, माझी र मुसहर समुदाय आर्थिक संकटमा


नवलपरासी । नारायणी किनारमा बसोबास गर्दै आएका बोटे, माझी र मुसहर समुदाय निकै विपन्न अवस्थामा छन् । उनीहरुले खोला र नदीमा माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । यी अल्पसंख्यक समुदायले क्रमिकरुपमा वैकल्पिक पेसा अगाल्न थालेका छन् । तर परम्परागत पेशा भने चटक्कै छाड्न सकेका छैनन् ।
करिव १२ हजारको संख्या रहेको यो समुदायको मुख्य माछा मार्नु नै हो । माछा नपाउँदा चितवन राष्ट्रिय निकुन्ज क्षेत्रमा निहुरो टिपेर जीविका चलाउने गरेका छन् । निकै गरिब वर्गको यो समूदायको सम्पत्ति डुंगा र जाल नै हो । पुरुषले मारेर ल्याएको माछा महिलाहरुले गाउँघरमा लगेर बेच्ने गर्दछन् ।
मुलुकमा अनेकौं राजनीतिक परिवर्तन भए पनि यो समुदायको जीवनस्तरमा खासै परिवर्तन हुन सकेको छैन । समयसँगै उनीहरुको माछा मार्ने पुख्र्यौली पेशा संकटमा परेको छ । माओवादी बिद्रोहका बेला उनीहरुलाई नारायणी नदीमा माछा मार्न र निकुन्ज प्रवेशमा कडाइ गरियो । माछा मार्ने अनुमति पत्र नविकरण गरिएन । लुकिछिपी माछा मार्न गए पनि सेनाले रोक्थे ।
माछा मार्न पाए पनि मारेको आधा माछा सेनालाई बुझाउन बाध्य थिए । जसका कारण पेशा संकटमा पर्न थालेपछि अहिले जीविकोपार्जनको लागि वैकल्पिक पेशा रोज्न बाध्य छन् । यी समुदायका केही शिक्षित युवा नीजि क्षेत्रमा रोजगारी गर्ने, बैदेशिक रोजगारमा जाने, जग्गा भाडामा लिएर व्यवसायिक खेती गर्ने, आफ्नो समुदायको उत्थानको लागि गैरसरकारी संस्थाहरुसँग समन्वय गर्ने काममा सरिक हुन थालेका छन् ।
यो समुदायका पुरुषहरु ज्याला मजदुरी गर्ने, साहुको घरमा काम गर्ने, जग्गा अधियाँ गर्ने पेशामा संलग्न हुन थालेका छन् । नारायणी नदीमा माछा मार्ने अनि निकुञ्जमा निउरो टिप्न र दाउरा खोज्ने दिनचर्याले उनीहरुका बालबालिका बिद्यालयसम्म पुग्न नसक्दा यो समुदाय शिक्षाको अवसरबाट बञ्चित हुँदै आएको बताउँछिन् कावासोती १४ बाघखोरकी रमा बोटे ।
रमा बोटे समुदायमै स्नातक उत्तीर्ण गर्ने पहिलो छात्रा हुन् । झण्डै १२ हजारको संख्यामा रहेका यो समुदायमा एसएलसी पास गर्नेको संख्या एक सयभन्दा बढी भएको माझी मुसहर बोटे कल्याण सेवा समितिका अध्यक्ष लालबहादुर बोटेले बताए । चितवन राष्ट्रिय निकुञ्ज र नारायणी नदी किनारमा बस्ने यो समुदायको उत्थानमा यहाँका अगुवा बोटे माझी मुसहर लागेपछि हाल एसएलसी पास गर्नेको संख्यामा उल्लेख्य बृद्धि हुँदै गएको छ ।
अग्यौलीको बाघखोरमा माझी प्राथमिक विद्यालय स्थापना गरेर छोराछोरी पठाउन थाले पनि जिल्ला शिक्षा कार्यालयबाट विद्यालयको भौतिक संरचना र शिक्षक नियुक्तिका लागि सहयोग नहुँदा शिक्षक अभावका कारण पठनपाठन राम्रो हुन नसक्दा आफनो समूदाय शिक्षाबाट पछाडी परेको स्थानीय अमरबहादुर माझीको भनाइ छ ।
स्नातक तहमा पढ्नेको संख्या भने न्यून रहेको पुरै समुदायमा २५ जनाले स्नातक ४० जनाले प्लटु पढ्दै गरेका छन् भने २० जना एसएलसी पासपछि माथिल्लो तहको शिक्षा हासिल गर्न नसकेको माझी मुसहर बोटे कल्याण सेवा समितिका लेखापाल सन्तबहादुर माझीले बताए । यो समुदायमा अशिक्षा र गरिवीको कारण बालश्रम र बालविवाह रोकिएको छैन ।
विद्यालय जाने उमेरकै बालबालिकाहरु बालश्रमिकका रुपमा प्रयोग हुने गरेका छन् । १३ बर्षदेखि १६ बर्ष उमेर समूहका केटाहरु ट्याक्टर मजदुर, घर निर्माणमा हेल्परदेखि भारतमा माछा सप्लायर्स, प्याकिङ र ढुवानीमा बालश्रमिककारुपमा प्रयोग हुने गरेका छन् भने बालिकाहरु घरेलु मजदुरको रुपमा अझै काम गर्ने गरेको पाइएको छ ।
विद्यालय नजाने र मजदुरी गर्दा गर्दै सानै उमेरमा मायाप्रेम बसेर विवाह गर्ने प्रवृति बढ्दा बालविवाहले प्रश्रय पाएको देखिन्छ । यसरी सानै उमेरमा विवाह गर्दा बाल तथा मातृ मृत्युदर पनि उच्च रहेको छ । ‘मुसहर समुदायमा बालविवाह हुनुको प्रमुख कारण गरिबी हो,’ एकता समाज नवलपरासीका अध्यक्ष जितबहादुर मुसहरले भने । उनका अनुसार धेरै अभिभावक माछा मार्न जाने, रक्सी खाएर बस्ने र आफ्ना बालबालिकाले कहाँ के गरेका छन् भनेर हेक्का नराख्ने गर्दा यस्तो समस्या आएको हो ।
अहिले पनि हुर्कदै गरेको केटाकेटीलाई जे पनि गर्न छुट दिने संस्कार रहेकोले पनि बालविवाह नियन्त्रण हुन नसकेको हो । बालविवाह गरेर सानैमा बच्चा जन्माउँदा बच्चा पेटमै मरेको वा जन्मिने बेलामा मृत जन्मिएका प्रशस्त घटनाहरु घट्ने गरेको माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका कार्यक्रम संयाजक दीपक बोटेको अनुभव छ ।
उनले अनुसार सानै उमेरमा विवाह गर्दा बच्चा जन्मिहाले पनि आमा र बच्चाको स्वास्थ्यमा असर गर्ने, आमा आफैं सानो उमेरको भएकोले बच्चाको स्याहार नै गर्न नसक्ने गरेको पाइएको बताए । सानो उमेरमा विवाह गर्ने महिलाको पछि आङ खस्ने समस्या यो समुदायको महिलाहरुमा प्रशस्त हुने गरेको पाइएको छ । नारायणी नदीमा माछा मारेर अनि दैनिक ज्याला मजदुरी गरेर जीवन निवाह गर्दै आइरहेका यो समुदायको समस्या समाधानका लागि राजनीतिक दलहरुले कुनै पहल नगरेको गुनासो छ ।
निर्वाचनका बेला दलहरुले भोट बैङ्ककारुपमा प्रयोग गर्ने गरेको उनीहरुको आरोप छ । चुनावको वेला गाउँको विकास, जीवनस्तर उकास्न धेरै काम गर्ने, नारायणी नदीमा तटबन्ध गरिदिने, बाटो बनाइदिने आदि दलहरुले आश्वासन दिए पनि चुनाव जितेपछि दलका नेताहरु गुनाम हुने गरेकोमा यो समुदाय राजनीतिक दलप्रति निकै आक्रोसित देखिन्छन् ।
यो समुदायको अर्को समस्या भनेको जग्गा धनी लालपूर्जाको हो । सदियांैदेखि आफु बसोबास गरेको जग्गाको पनि जग्गा धनी लालपूर्जा पाउन नसक्दा राज्यले आफुलाई ठगेको महसुस गर्छ यो समुदाय । पूर्व–पश्चिम लोकमार्गबाट नजिकैको दुरीमा रहेका यी समुदायका बस्तीहरुमा खासै विकास हुन सकेको छैन । गरीब, विपन्न र पिछडिएको समुदाय भएकाले कसैले वास्ता नगरेको गुनासो यो समुदायको छ ।
नारायणी नदीमा माछा मार्न निकुन्जले नदिने, खेती गरेको सबै जंगली जनावारले खाइदिने, लालपुर्जा नहुँदा क्षतिपूर्ति पनि नपाइने आदि समस्याले यी समुदाय ग्रसित रहेको पाइन्छ । पुरानै पेशामा जीवन निर्वाह गरिरहेको यो समुदायलाई वैकल्पिक पेशाका रुपमा मध्यवर्तीले पोखरीमा माछा पालनका लागि केही स्थानमा जग्गा उपलब्ध गराएर पोखरी निर्माण गरिए पनि आर्थिक अवस्था कमजोर रहेका कारण पोखरीमा माछा हाल्न समेत नसकेर ति पोखरीहरु त्यसै रहेको भेटिन्छ ।
नजिकै रहेको नदी किनारको जग्गामा खेती गर्दै आइरहेको भए पनि लगाएको खेती सबै निकुञ्जबाट आउने गैंडा, मयुर, बँदेलले खाएर नष्ट गरिदिने गरेकोले यो समुदाय पीडित नै छ । विविध समस्याबाट गुज्रिएका यी समुदायले पछिल्लो समयमा आफ्नै पहलमा आफ्नो समुदायको उत्थान गर्न केही रचनात्मक कार्य गरेको पाइन्छ । गाउँमा होमेस्टे संचालन गर्न थालेपछि यी समुदायको आयआर्जनमा बृदि हुन थालेको छ भने बालबालिका विद्यालय जान थालेका छन् ।
गाउँमा नयाँ मानिस देख्दा बोल्न डराउने महिलाहरु निर्धक्क कुरा गर्न सक्ने अवस्थाको सृजना भएको छ । त्यस्तै पर्यटनको मध्यमबाट आफ्नो कलासंस्कृति पनि जोगिएकोमा यी समुदाय दंग देखिन्छन् । पिछडिएको तथा अल्पसंख्यक समुदायमा पर्ने यी समुदायको समस्यालाई समाधान गर्दै यी समुदायलाई राज्यको मुलधारमा ल्याई विविधतामा एकता भन्ने सन्देश फैलाउनु हामी सबैको साझा कर्तव्य हो ।

प्रतिक्रिया

लोकप्रिय