डिआईजी खरेलले आज राजिनामा दिँदै, राजिनामा नदिन खनालको आग्रह

काठमाडौं । प्रहरी महानिरीक्षक नियुक्तिमा असन्तुष्टि जनाउँदै डिआईजी रमेश खरेलले बुधबार राजिनामा दिने भएका छन् । बुधबार दिउँसो प्रहरी महानिरीक्षकको सचिवालयमा लगेर राजिनामा बुझाउने उनको तयारी छ । सरकारले मंगलबार डिआईजी सर्बेन्द्र खनाललाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
आफ्नो उचित मूल्याङकन नभएको भन्दै खरेलले राजिनामा दिन लागेका हुन् । खरेलले यसबारेमा औपचारिक रुपमा केही बोल्न चाहेनन् । तर, राजिनामा दिन लागेको पुष्टि गरे । उनका एक सहयोगीका अनुसार राजिनामापत्र तयार भइसकेको छ । नेपाल प्रहरीका ‘हिरो’ प्रहरी अधिकृतका रुपमा चिनिएका खरेललाई डिआईजी बढुवामा पछि पारिएको थियो ।
एसएसपीमा पहिलो नम्बरमा रहेका उनलाई शेरबहादुर देउवा नेतृत्वको सरकारले दोस्रो नम्बरमा डिआईजीमा बढुवा गरेको थियो । त्यसअघि उनी सधैं आफ्नो ब्याचमा एक नम्बरमा बढुवा हुँदै आएका थिए । सरकारले त्यसबेला पहिलो नम्बरमा बढुवा गरेका सर्वेन्द्र खनाल सोमबार आईजिपीमा बढुवा भए । खनालले भने खरेललाई फोन गरेर राजिनामा नदिन आग्रह गरेका छन् ।
खरेल २०४५ साल फागुन १ गते भलिबल खेलाडीका रुपमा प्रहरी जवान पदबाट प्रहरी सेवा प्रबेश गरेका थिए । १० महिनापछि उनले अनिवार्य अवकाश पाउँदैछन् । नेपाल प्रहरीमा उनी ‘पहिलो हिरो’ का रुपमा चिनिन्छन् । एसपी पददेखि खरेलको चर्चा सुरु भएको थियो । सप्तरीको जिल्ला प्रहरी प्रमुखका रुपमा काम गर्दा अपराधीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भएपछि उनको चर्चा सुरु भएको थियो ।
त्यसपछि पोखरा, पर्सा र काठमाडौंको प्रहरी प्रमुखको रुपमा उनले चर्चा चुलिएको थियो । कसैको दबाब नमान्ने र लोभमा नपर्ने कारण उनी जनमानसमा रोलमोडल बने । उनको त्यही चर्चा पछि प्रहरीमा ‘ट्रेन्ड’ बन्यो । तर, नेताहरुसँग भने उनको सम्बन्ध बिग्रदै गयो । जसकारण डिआईजी बढुवामा उनी पछि परे । त्यही एग्रेसिभ पुलिसिङ नै आईजिपी बन्ने सपनाका लागि बाधक बन्यो ।
आईजिपीका अर्का प्रमुख प्रतिस्पर्धी पुष्कर कार्कीले भने सरकारको निर्णय स्वीकार्ने बताएका छन् । आईजिपीका तिनै जना प्रतिस्पर्धी उत्तिकै काबिल मानिन्थे । प्रधानमन्त्री केपी शर्मा ओलीको रोजाईमा खरेल र कार्की भएपनि प्रचण्डको अडानपछि सरकारले खनाललाई नै आईजिपी बनाएको हो । बुधबारदेखि उनले कार्यभार सम्हाल्दैछन् ।

प्रतिक्रिया

धेरै पढिएको