त्रिभुवन विमानस्थलमा थपिए एक हजार कुर्सी

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्थलमा यात्रुलाई सहज हुने गरी भौतिक सुधारको काम सुरु भएको छ । हालै त्रिभुवन विमानस्थलको अन्तर्राष्ट्रिय टर्मिनलको प्रस्थान विन्दुतर्फको यात्रु प्रतिक्षा कक्षमा एक हजार वटा नयाँ कुर्सी राखिएको छ ।
एकवर्ष अघि नै भएको टेण्डरका आधारमा एक हजारवटा नयाँ कुर्सी थपिएको विभानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरले बताए । यसले यात्रुलाई सहज हुने अपेक्षा विमानस्थलको छ । ‘यात्रुको अन्तिम सुरक्षा जाँचपछि प्लेन चढ्नुअघि प्रतीक्षामा बस्नुपर्ने कक्षमा एक हजार नयाँ कुर्सी थपेका छौं । अब अब यात्रुले विदेश प्रस्थानको समयमा हलमा उभिनुपर्ने छैन,’ ठाकुरले भने, ‘यी कुर्सी अन्तर्राष्ट्रिय स्तरका हुन् ।’
यसअघि सो हलमा दुई सय मात्रै कुर्सी थिए । अब यो संख्या १२ सय पुगेको छ । केही कुर्सी पुराना भएकाले त्यसले हलको शोभा नै बिगारेको थियो । ‘केही पुराना कुर्सीलाई आगमनतर्फको वेटिङ कक्षमा ल्याइएको छ । अब केही कुर्सी आन्तरिक टर्मिनलमा लैजाने योजना छ,’ ठाकुरले भने ।

प्रतिक्रिया

धेरै पढिएको