
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आगामी बजेटमार्फत अटोमोवाइलको आयात तथा व्यवसायमा केही कडा नीति अवलम्बन गर्न सकिनेतर्फ संकेत गरेका छन् । उनले अर्थतन्त्रको विकासको गति सँगसँगै अटोमोवाइल क्षेत्रको विकास समेत हुनुपर्नेमा जोड दिंदै भने, ‘निरपेक्ष ढंगले कुनै एउटा सेक्टर मात्र अगाडि बढ्न सक्दैन ।
डा. खतिवडाले राजधानीका सडक क्षमता अनुसार गाडीको संख्या धेरै भइसकेको भन्दै आयातमा कडाई हुनसक्ने संकेत गरेका हुन् । भूटानको उदाहरण दिँदै उनले भने, ‘भूटानको अर्थतन्त्र बिगार्ने त्यही अटोमोवाइल हो । कुनै समय थिम्पूूलाई टाफिक लाइट नभएको शहर भनेर चिनिन्थ्यो, अहिले त्यहाँजस्तो ट्राफिक जाम अरुतिर हुन्न । गाडी आयात गरेको पैसा तिर्न नसकेर मुलुककै ब्यालेन्स अफ पेमेन्ट समस्याग्रस्त भएको छ ।’
उनले आफ्नो भनाईको विरोध हुने देखेपछि गाडीको आयातलाई कुण्ठित गर्नुपर्छ भन्न नखोजेको दाबी गर्दै फेरि भने, ‘मुलुकको विकासको आवश्यकता, व्यवसायिक सम्भावना, मान्छेको मोविलिटीलाई व्यवस्थित गर्ने क्रममा अर्थतन्त्रको विकास सँगसँगै यसलाई अगाडि बढाउनुपर्दछ ।’ उनले काठमाडौंको अस्तव्यस्त सडकको उदाहरण दिंदै गाडी आयात गर्ने व्यवसायीलाई समेत यो कुराको अनुुभूति हुनुुपर्ने बताए ।
‘सडक बनाउनतिर नलाग्ने र गाडी मात्र आयात गर्ने कुराहरुले हामी व्यवस्थित हुन सक्दैनौ,’ उनले थप, ‘अहिले नै काठमाडौंको ट्राफिक हेर्नुभयो भने तपाई आफैंलाई एक किसिमले त फिल हुँदो हो नि कति गाडी बेचिएछ भन्ने कुरा । भलै, त्यो पनि हाम्रै कारणले हो किनभने हामीले गाडी आयात गर्न छाडिदिएकै छौं, तपाईले व्यवसाय गर्ने हो, केही भएन ।’ उनले सिंगो अटोमोवाइल क्षेत्र वा सबै सवारीका साधन उत्पादनमूलक हुन नसक्ने जिकिर समेत गरे ।
‘हामी मुलत यातायातका साधन उत्पादनसँगै जोडिने हो, त्यसमा कुनै शंका छैन, तर हामी आफैं कति उत्पादनसँग जोडिएका छौ । मैले किनेको सवारी साधानले कारखानामा जान पाउनुुपर्दछ, कारखानाबाट बजारीकरण गर्न पाउनुुपर्दछ । न कि अर्को नाममा, कुनै पनि चिज प्रयोगको हिसाबले उत्पादक र अनुत्पादक हुन्छ, आफैंमा त्यो उत्पादक वा अनुत्पादक हुँदैन,’ उनले भने, ‘प्रयोग कसरी गर्छौ । तपाईको हातमा भएको मोवाइल विजिनेश डिल गर्दा पनि भयो, गेम खेल्दा पनि भयो, मार्केट इनफरमेसन लिंदा पनि भयो, टेक्नोलोजी लिंदा पनि भयो । हेर्दाखेरि बिलासी देखिन्छ तपाईले त्यसलाई उत्पादनसँग जोडिरहनुभएको देखिन्छ, कतिले के खायौं आज भनेर लामो समयसम्म गफ गरिराखेको पनि हुन्छन् ।’
विविध प्रकारको हाम्रो खुल्ला आयात नीतिलाई कहिलेकाही त्यसको लाभ लिएर कहिलेकाही मुलुकलाई नचाहिने चिज पनि भित्रिरहेको जिरिक गर्दै उनले आफूहरुले आयात गर्ने हरेक वस्तुुलाई उत्पादनसँग जोड्नुुपर्ने बताए । उनले सरकारले अब विद्युती गाडी र ठूला तथा लामा सार्वजनिक सवारीको आयातलाई विशेष जोड दिने पनि बताए । उनले अब मुलुकभित्रै सवारी साधनका लागि एसेम्बल उद्योग समेत खोल्नुपर्नेमा उनले जोड दिए ।
‘हामीसँग यति धेरै अटोमोवाइलको माग छ, एसेम्बल उद्योग खोलौं, केही चिज यही उत्पादन गरौं, त्यसका लागि ठूलो औद्योगिक क्षेत्र चाहिन्छ भने त्यसको पनि व्यवस्था गरौं भनेर सरकारले विशेष आर्थिक क्षेत्रका परिकल्पना गरी १ हजार विगाहासम्मको प्लटहरु समेत तयार गरेको छ,’ उनले भने, ‘अब तपाईहरुले प्रदर्शनी कक्ष मात्र होइन, उत्पादन कक्षको पनि कुरा गर्नुपर्छ । डिलर मात्र नभएर, एसेम्ब्लर पनि बन्नुुपर्छ, तपाईलाई उद्योगसँग जोड्न पाए हामी खुशी हुन्छौ ।’
। २७ चैत्र २०७४, मंगलवार ०६:१५