प्रधानमन्त्री ओलीको भारत भ्रमण : दुई देशबीचको सम्बन्ध नयाँ उचाइमा


रमेश लम्साल । काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत २३ देखि २५ गतेसम्म भएको तीन दिने भारतको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याएको छ । नेपालका प्रधानमन्त्री र भ्रमण दलका सदस्यलाई भारतले उपलब्ध गराएको आतिथ्यता तथा भएका सहमतिले नेपालको आर्थिक विकास तथा समृद्धिको क्षेत्रमा नयाँ आयामसमेत थपेको छ ।
सगरमाथाको देशलाई सागरसम्मको पहुँच तथा काठमाडौँलाई भारतको रेल सञ्जालसँग जोड्ने, एकीकृत जाँच चौकीको उद्घाटन र पेट्रोलियम पाइप लाइनको शिलान्यासजस्ता विषयले भ्रमणलाई ऐतिहासिक र महत्वपूर्ण बनाएको छ । यस्तै, प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि नेपालले प्राप्त गरेको राजनीतिक स्थिरता र समृद्धिको योजनालाई भारत सरकारले खुलेर सहयोग गर्ने वचनसमेत दिएको छ ।
प्रधानमन्त्री ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएका एक्लाएक्लै वार्ता र प्रतिनिधिमण्डल स्तरीय वार्ताले दुई देशबीचको समान चासोमा साझा धारणा बनाउने र कहीँकतै समस्या भए त्यसलाई समाधान गरेर जाने सहमतिसमेत भएको छ । द्विपक्षीय भेटवार्तामा सहभागी परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्रीबीच एक्लाएक्लै भएको छलफल तथा प्रतिनिधिमण्डलस्तरमा भएको छलफलका आधारमा दुई देशको सम्बन्ध नयाँ उचाइमा पुगेको छ ।
स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभाको निर्वाचनपछि नेपाल संविधान कार्यान्वयनको नयाँ चरणमा प्रवेश गरेको, राजनीतिक स्थिरता कायम भएकाले पनि अबको बाटो आर्थिक समृद्धि मात्रै रहेको निष्कर्षमा सबै राजनीतिक दल र सरकार पुगेको सन्दर्भमा भ्रमण आपसी सम्बन्ध विस्तारका हिसाबले पनि महत्वपूर्ण रहेको छ । भारतका प्रधानमन्त्री मोदी, गृहमन्त्री राजनाथ सिंह, भारतीय काँग्रेस आइका अध्यक्ष राहुल गान्धी, पूर्व प्रधानमन्त्री डा मनमोहन सिंहलगायत उच्च राजनीतिक नेतृत्वले नेपालको समृद्धिका लागि खुलेर सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
सम्पर्क सञ्जालको विस्तार, आर्थिक समृद्धिका लागि भारतको निजी क्षेत्रको पनि उत्साहजनक चासोलाई प्रधानमन्त्री ओलीले भ्रमणको क्रममा सविस्तार व्याख्या गर्दै नेपाल लगानीका लागि ‘भर्जिन ल्याण्ड’ भएको जानकारी दिएका थिए । नेपाली उद्योगी व्यवसायीको नेतृत्वलाई समेत साथमा राखेर प्रधानमन्त्री ओलीले कृषि, पर्यटन तथा ऊर्जाको क्षेत्रमा भारतीय लगानीकर्तालाई खुला हृदयका साथ लगानीका लागि आग्रह गरेका थिए ।
प्रधानमन्त्री ओलीले स्वदेशी तथा विदेशी लगानीकर्तालाई कुनै भेदभाव नगरी लगानीमैत्री वातावरण बनाउने सन्देश मात्रै दिएनन् नेपालमा गरिने भारतीय लगानीले दुवै देशको हित गर्नेसमेत स्पष्ट पारेका थिए । नेपाललाई सगरमाथादेखि सागरसम्मको सहज पहुँचका सन्र्दभमा जुन स्तरको सहमति र प्रतिबद्धता भारतले जनाएको छ, त्यसले परिवर्तनको विशिष्ट चाहनालाई समेत सम्बोधन गर्नेछ । प्रधानमन्त्री ओलीकै शब्दमा भ्रमणले नेपाल–भारत सम्बन्धलाई एक्काइसाँै शताब्दीको आँखाबाट हेर्ने अवस्थामा पुर्याइदिएको छ ।
भ्रमणले दुई देशबीच असमझदारीका पक्षलाई पूर्णतः अन्त्य गरी पारस्परिक विश्वास अभिवृद्धि गर्न सफलता हासिल गरेको छ । प्रधानमन्त्री ओलीले भने, ‘नेपालमा लोकतन्त्र खतरामा छ वा छिमेकीसँग ‘कार्ड’ खेल्न खोज्छ भन्नेजस्ता केही आरोप र भ्रम फिँजाइएका थिए । सन्तुलित सम्बन्ध र उपयुक्त नीति अवलम्बनमा आँच पु¥याउने प्रयासलाई चिर्दै आपसी समझदारी र विश्वास कायम गर्न भ्रमणले महत्वपूर्ण भूमिका खेलेको छ ।’
भारतीय प्रधानमन्त्री मोदीसँग शनिबार भएको विशेष भेटवार्ताले नै अबको नेपालसँगको भारतीय सम्बन्ध मजबुत भएको तथा सहयोग गर्ने भारतीय पक्षको तत्परताले सम्बन्धलाई नयाँ उचाइमा पु¥याएको प्रधानमन्त्री ओलीको प्रष्टोक्ति छ । नेपाललाई सहयोग गर्ने भारतको तत्परता, रक्सौल–काठमाडौँ रेल तथा गंगाको बाटो हुँदै नेपालका नदीमा पानीजहाजमार्फत सामान ढुवानी गर्नेजस्ता विषय नेपालको दीर्घकालीन फाइदाका लागि महत्वपूर्ण रहेका छन् ।
भारतका राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीलगायत सबै पक्षसँगको भेटवार्ता र छलफलका क्रममा सार्वभौम र स्वतन्त्र राष्ट्र नेपाल अहस्तक्षेपकारी नीतिमा छ र आफ्ना सवालमा स्वतन्त्र ढंगले आफँै निर्णय गर्छ भन्ने नेपाली भाव प्रष्ट प्रकट गरिएको थियो । जनचाहनाअनुरुप बनेको संविधान, त्यसको कार्यान्वयन र निर्वा्चित सरकारप्रतिको जनविश्वासमा ‘जुन आदरभाव भारतमा देखिएको छ त्यसले सबै कुरा स्पष्ट गरेको’ प्रधानमन्त्री ओलीको अभिमत छ ।
भारतीय प्रधानमन्त्रीले नेपालले प्राप्त गरेको पछिल्लो सफलताको प्रशंसा गर्नुका साथै प्रतिनिधिसभाको तीन चौथाइ मतद्वारा प्रधानमन्त्रीमा निर्वाचित भएकामा प्रधानमन्त्री ओलीको कार्यकालको सफलताका लागि शुभकामना दिएको र नयाँ आधारमा दुई देशबीचको सम्बन्धलाई अगाडि बढाउने विश्वाससमेत व्यक्त गरेकाले विगतमा रहेका तीतामिठा सम्बन्धलाई पनि नयाँ आधारमा परिभाषित गरिदिएको छ । प्रधानमन्त्री ओलीसँगको भेटमा भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा क्षेत्रमा देखिएका समस्या समाधानमा समेत चासो दिएका छन् ।
दुवै देशका सुरक्षाकर्मीको क्षमता वृद्धि र सीमा अमनचैन कायम गर्ने काममा मिलेर जाने सहमति भएको छ । नेपालको विकास निर्माणमा भारतको सहयोग वृद्धि गर्नेदेखि विगतमा भएका सहमति तथा सम्झौतालाई अक्षरशः कार्यान्वयन गर्न पनि भ्रमणले दिशानिर्देश गरेको ठानिएको छ । भारत सरकारले काठमाडौँसँग रेल सञ्जाल विस्तार गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । भूपरिवेष्टित मुलुकले पाउने समुद्रसम्मको सहज पहुँचलाई विस्तार गर्न जल यातायातलाई अगाडि बढाउने, कृषि तथा प्रविधिका क्षेत्रमा नेपाललाई सहयोग गर्ने जुन खालको प्रतिबद्धता भारतले जनाएको छ ।
त्यसले पनि नेपालले अगाडि सारेको आर्थिक समृद्धिको महान् यात्रालाई सम्बोधन गर्न बल पुगेको परराष्ट्रमन्त्री ज्ञवालीको भनाइ छ । नेपाल सरकारले अगाडि सारेको ‘सुखी नेपाली समृद्ध नेपाल’को नारालाई व्यावहारिकरुपमा कार्यान्वयन गराउने र नेपालको बढ्दो व्यापार घाटालाई न्यून गर्ने विषयले पनि महत्वका साथ प्राथमिकता पाएको छ । भारत नेपालको ठूलो बजार हुनसक्ने सन्दर्भमा नेपाली उत्पादनले भारतीय बजारमा सहज पहुँच पाउने हो भने पनि व्यापार घाटा कम गर्न सकिने विषयले पनि छलफलमा प्रमुखता पाएको थियो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यष भवानी राणाले नेपालमा लगानीका लागि प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डलले गरेको आग्रहलाई भारतीय लगानीकर्ताले सकारात्मक रुपमा लिएको टिप्पणी गर्छन् । लगानीका लागि व्यक्त भएका आग्रह र त्यसमा बनेका द्विपक्षीय समझदारीले प्रधानमन्त्रीको भारत भ्रमण पूर्णरुपमा सफल भएको विश्वास गर्न सकिने प्रतिनिधिसभाका सदस्य रामवीर मानन्धरको भनाइ छ । भारतको केन्द्र सरकारको मात्रै नभई उत्तराखण्ड राज्यका मुख्यमन्त्री त्रिभेन्द्रसिंह रावतले नेपाल भारतको उत्तर प्रदेशसँग जोडिएकाले पनि जनस्तरको सम्बन्धलाई प्रगाढ बनाउने र काठमाडौँ–देहरादुनलाई हवाई सम्पर्कमा जोड्ने विषयलाई प्राथमिकताका साथ उल्लेख गर्नु भ्रमणका सकारात्मक पक्ष हुन् । रासस

प्रतिक्रिया

लोकप्रिय