दैलादैलामा पिरती साट्दै ६९ वर्षीय गन्धर्व


कविता उपाध्याय । लिबाङ (रोल्पा) ।

घुघुतीले खोर लायो डाली हुइती हुइती
भेट हुने भा मासै होइजा नहो कैती कैती
मही  पार्यो घार्रघुर्र ठेकी लाग्यो तर
लाग्छ माया लाहुरेको भन्न हुँदैन र ?

मीठो स्वर, सुरिलो भाका अनि सारङ्गीको रयाइरयाईं धुनसँगै सुमधुर गीत गाइरहँदा लाग्थ्यो कुनै अधबैँसे पिरतीको भाकामा रमाइरहेको छ । तर यो सुरिलो आवाज कुनै अधबैँसे युवाको नभई ६९ वर्षीय वृद्ध हिमकान्त गन्धर्वको थियो । बिहीबार उनी रोल्पाको सदरमुकाम लिबाङ बजारमा सारङ्गी रेट्दै दिनभर घुमिरहेका थिए ।
चाउरी परेको बूढो अनुहार, सेतै फुलेको कपाल, घाँटीमा दुईफन्का बेरिएको गलबन्दी अनि मैलो इस्टकोट लगाएर दैलादैलामा पिरती साट्दै हिँडेका वृद्ध गन्धर्वले रोल्पालीलाई एक प्रकारको मोहनी नै लगाएको भान हुन्थ्यो । युवायुवतीमात्र होइन वृद्धवृद्धासमेत उनको वरिपरि झुम्मिएका थिए । हातमा सारङ्गी काँधमा दिनभरिको कमाइको पोको बोकेर घरघरै हिँडेको देख्दा लाथ्यो उनमा अझै पनि १६ वर्षीय युवकमा जत्तिकै जोश अनि जाँगर छ ।
‘उमेर बूढो भए पनि मन बूढो हुँदैन मैयाँ, मान्छेको जिन्दगी अनि यो माया भन्ने चिज नै अनौठो हुँदो रहेछ,’ उनले भने, ‘हेर्दा बूढो देखिन्छु जवानीमा जति हिँड्डुल गर्न सकिँदैन तर मन फेरिएको छैन अझै उस्तै लाउँलाउँ खाउँखाउँ लाग्छ । ताजै छन् रहरहरु ।’ बूढागाउँ–३ लिङ्दुङ रोल्पामा २००७ सालमा जन्मिएका गन्धर्वले करीब १२ वर्षको उमेरदेखि सारङ्गी रेट्न सिकेका हुन् ।
बाल्यकालदेखि नै आफ्ना बुबाको पछिपछि हिँड्दै गर्दा १४ वर्षको उमेरमा उनले सम्पूर्ण रुपमा सारङ्गी बजाउन र गीत गाउन सिकेका थिए । तर उनलाई पढ्ने अवसर जुरेन । पढाइलेखाइ नभएपछि उनले यही पेशा रोजे, यही पेशामा रमाए अनि यही पेशालाई निरन्तरता दिँदै आएका छन् ।

आउ बसौँ थकाइ मारौँ कदमको डालीमा
मौरी घुम्यो रसमा म भुले मायाँ जालमा
माया बस्यो तिम्रो र हाम्रो
कहिले पनि नहोस् है नराम्रो


यस्तै यस्तै गीत गाउँदै हिँड्ने क्रममा कुनै युवतीलाई आफ्नो माया जालमा पारेपछि उनले १८ वर्षको उमेरमा प्रेम विवाह गरेका थिए । तर दुर्भाग्य उनको पहिलो प्रेम सफल हुन सकेन । आफ्नो अतित स्मरण गर्दै उनले भने, ‘पहिला हाम्रो पालामा अहिलेको जस्तो मोटरको सुविधा थिएन । हिँडेरै घरदैलो अभियानमा पुग्नु पथ्र्याे । गाउँदै बजाउँदै हिँड्दा दुई तीन महिनामा एकपटक घर आउन पाइन्थ्यो । श्रीमतीलाई समय दिन नसकेपछि उनले पनि मलाई साथ दिन सकिनन् । करीब दुई वर्षमा उनले मलाई छोडेर दोस्रो बिहे गरिन् ।’
यसरी श्रीमतीले साथ छोडे पनि उनको मीठो आवाज र सारङ्गीले भने साथ छोडेन जसका कारण २१ वर्षको उमेरमा उनले सारङ्गी रेट्दारेट्दै दोस्रो बिहे गरे । उनको दोस्रो घरबार सन्तोषजनक रुपमा अगाडि बढिरहेको छ । श्रीमतीको साथ, सहयोग र मायाले उनलाई बूढेसकालमा पनि उत्तिकै आँट र साहस भर्ने गर्छ । तर पनि श्रीमतीको जत्तिकै सारङ्गीको माया लाग्ने भएपछि उनले सारङ्गी रेट्न भने छोडेका छैनन् । हाल दाङको नारायणपुरमा स्थायी ठेगाना भएका गन्धर्वले श्रीमती घरमै छोडेर रोल्पाका बस्ती बस्ती चहार्छन् । पेशा छोडे के खानु ? कहाँ जानु ? पेशा बचाउनकै लागि उनले रोल्पा आइपुगेको बताए ।

आज गाउँमा घुम्न जान्छु हातमा लौरो समाइ
जिजुबाजे पूर्खादेखि यै छ मेरो कमाइ
कानमा झोला सारङ्गी भिरेर,
गाउँछु गीत संसारै हिँडेर


एकाध गन्धर्वबाहेक यो पेशामा अरु कोही नलागेका कारण आफ्नो संस्कृति र परम्परा लोप हुने हो कि भन्दै उनले गीतका माध्यमबाट चिन्ता प्रकट गरेका छन् । सरकारले समयमै ध्यान नदिए नेपाली संस्कृति धरापमा पर्छ कि भन्ने चिन्ता लाग्ने गरेको उनले बताए । आधुनिकताको नाममा पश्चिमी संस्कृतिको सिको गर्दै नेपालीहरुले आफ्नो संस्कृति र परम्परा बिर्सन लागेको भन्दै उनले गीतबाट यसरी दुःख प्रकट गरे ।

गरीबको घरमाथि आटोपिठो छैन
यो जिन्दगी बचाउनलाई नखाएर भैन
हेर आमा म दुःखी छोरीलाई
दुःख प¥यो जिन्दगीभरिलाई

गन्धर्वका गीतमा समाजको यथार्थ चित्रण झल्किन्थ्यो । गरिबीका कारण आटोपिठो पनि पेटभर खान नपाउँदाको अवस्था र पेट पाल्नका लागि मान्छेले संघर्ष गर्नुपर्ने कुराहरुसमेत उनका गीतमा समेटिएका थिए । यसैगरी एउटी चेलीका संघर्षका कथा र जीवन भोगाइका व्यथासमेत उनका गीतमा सुन्न पाउँदा वरपर बसेका सबै मन्त्रमुग्ध बनेका थिए ।

डालीडाली चालीचाली झुल्के जोवन जान्छ
अभागीको मेरो दया, माया कल्ले मान्छ
२१ वर्षे उमेरमा भर्खर बिहे भाको
२५ वर्षे उमेरमा स्वामी परदेश गाको
बारबार आँसु गिराएर रोइराकी हौले
बादलबाट चियाएर हेरिराकी हौले


उनले वैदेशिक रोजगारीका लागि परदेशिएका श्रीमानका पीडा तथा बाध्यताले बिछोडिएर घरमा बसेका प्रवासीका श्रीमतीका कथाव्यथालाई समेत गीतमा सुनाए । शुरुशुरुमा माया पिरतीका गीत गाएर युवायुवतीलाई काउकुती लगाएका गन्धर्वले क्षणभरमै निकै भावुक पनि बनाइदिए ।

गन्धर्वको पखेटामा सारङ्गीको ताँती
गरीबको निसान थेन चारै अड्डामाथि
खानलागे अनाज य बेच्न लागे भुस
हारल मुद्दा जितल हुन्थ्यो रुप्पे खान्थे घुस

उनले गीतका माध्यमबाट समाजमा मौलाउँदै गएको भ्रष्टाचारलाई पनि उजागर गरेका थिए । पछिल्ला दिनमा प्रविधिको विकाससँगै गन्धर्वहरु ओझेल परे पनि अघिल्लो पुस्ताका सञ्चारकर्मी तथा सञ्चारमाध्यम गन्धर्वहरु नै रहेको उनको दाबी छ । त्यसैले गन्धर्वहरुको पेशा बचाउन राज्यले विशेष पहल गर्नुपर्नेमा उनको जोड छ । रासस

प्रतिक्रिया

धेरै पढिएको