गाउँपालिका महासंघमा श्रेष्ठ निर्वाचित

काठमाडौं । गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित हुनुभएको छ । महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा चयन गरेको हो । ३७ सदस्यीय केन्द्रिय कार्यसमितिको महासचिवमा वंशलाल तामाङ चयन हुनु भएको छ । त्यसैगरी उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर निर्वाचित हुनु भएको छ । नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका हुनुहुन्छ भने महासचिव तामाङ नेपाली कांग्रेसका हुनुहुन्छ । महाधिवेशनले २१ बुँदे काठमाडांै घोषणा पत्र जारी गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय सरकारसँग माग पनि गरेको छ । माग पूरा गर्न नसके नभए स्थानीय सरकार आफैले कर्मचारी व्यवस्थापन गर्ने बाटो खोलीदिन पनि संघीय सरकारसँग माग गरिएको घोषणापत्र तयारी उपसमितिका संयोजक ईश्वरचन्द्र पोखरेलले जानकारी दिनुभयो ।
महासंघले जारी गरेको घोषणापत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासका लागि आवश्यक कार्यक्रम संचालन गर्ने प्रतिवद्धता व्यक्त गरिएको छ । त्यसैगरी संविधानको भावना विपरितका संघीय कानुनहरुको संशोधन र खारेज गर्न संयुक्त अभियान संचालन गर्ने, तराई मधेशका स्थानीय सरकारहरुको प्रभावकारिताका लागि आवश्यक कार्यक्रम तर्जु गर्ने महासंघको घोषणापत्रमा उल्लेख गरिएको छ । ३ दिनसम्म चलेको महाधिवेशनले देशभरका गाउँपालिकाहरुको समस्याको उठान गर्दै समाधानका उपायहरुको खोजी गरिएको दावी समेत गरिएको छ ।

प्रतिक्रिया

धेरै पढिएको