लोप हुँदै बाइसे चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदा

रुकुम । रुकुममा रहेका तत्कालीन बाइसे र चौबीसे राज्यले बनाएका ऐतिहासिक सम्पदाहरु लोप हुने अवस्थामा पुगेका छन् । दुई सय वर्षअघि तत्कालीन बाइसे र चौबीसे राज्यले निर्माण गरेका मन्दिर, देवल, कुवा, दरबारलगायतका अवशेष नै लोप हुन लागेका हुन् ।
रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ पोख्रेलगाउँमा रहेको २ सय वर्ष पुरानो ढुंगैढुंगाले बनाएको जहारी कोटेमन्दिर संरक्षणको अभावमा लोप हुने अवस्थामा पुगेको छ । उचित संरक्षणको अभावमा पुरातात्विक सम्पदाहरु लोप हुने अवस्थामा पुगेको स्थानीय दुर्गाप्रसाद जैसीले बताए ।
दुई सय वर्षअघि जाजरकोटी जगतीपुरे राजा शिवनारायणले रुकुमे कोटजहारी राजा विक्रमदेवसँग मीत लगाउने क्रममा पुरातात्विक सम्पदा बनाइदिएको स्थानीयबासी बताउँछन् । रुकुमका मुसिकोट, आठविसकोट, रुकुमकोट, बाँफीकोटलगायत राजाहरुले निर्माण गरेका पुराना भौतिक संरचना पनि लोप हुने अवस्थामा छन् । बाइसे र चौबीसे राजाहरुले निर्माण गरेका भौतिक संरचना प्रशस्त भए पनि नवनिर्वाचित प्रतिनिधिहरुले संरक्षणमा कुनै चासो दिएका छैनन् ।

प्रतिक्रिया

धेरै पढिएको