प्रदेश–४ का मुख्यमन्त्रीका दाबेदार गुरुङ भारी मतान्तरले विजयी

काठमाडौं । लमजुङ–२ प्रदेशसभाबाट वामगठबन्धनका उम्मेदवार पृथ्वीसुब्बा गुरुङ भारी मतान्तरका साथ विजयी भएका छन्। प्रतिनिधि सभामा पनि वामगठबन्धनकै देबप्रसाद गुरुङ विजयोन्मुख छन् । एमाले सचिव समेत रहेका गुरुङले २३ हजार १८८ मत ल्याई कांग्रेस उम्मेदवार कृष्णप्रसाद कोइरालालाई पराजित गरेका हुन् । कोइरालाले १५ हजार १२२ मत पाएका छन् । २०६४ को संविधान सभा चुनावमा यसै क्षेत्रबाट विजय हासिल गरेका गुरुङ २०७० को संविधान सभा चुनावमा भने पराजित भएका थिए। उनी एमालेको तर्फबाट प्रदेश–४ को मुख्यमन्त्रीका दावेदार हुन् ।
प्रतिनिधि सभामा एक सिटमात्र रहेको लमजुङमा प्रतिनिधि सभातर्फ पनि वामगठबन्धनकै उम्मेदवार विजयोन्मुख छन् । माओवादी केन्द्रका देबप्रसाद गुरुङले झण्डै पाँच हजार मतान्तरका साथ कांग्रेसका दीलबहादुर घर्तिमाथि अग्रता हासिल गरिरहेका छन् । प्रदेशसभा–१ मा पनि एमाले उम्मेदवार धनन्जय दवाडी निकै ठूलो मतान्तरका साथ अगाडि छन् । उनले पनि झण्डै ५ हजार मतान्तरले कांग्रेसका गर्जबहादुर गुरुङलाई पछि पारिरहेका छन् ।