नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कहिले ?


काठमाडौं । मुलुकले नयाँ राष्ट्रपति र उपराष्ट्रपति आगामी माघ महिनापछि मात्र पाउनेछ । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन, त्यसको अन्तिम मतपरिणाम र नयाँ सरकारको गठन हुनै कम्तिमा दुई महिना लाग्ने भएकाले नयाँ राष्ट्रपति र उपराष्ट्रपतिको चयन प्रक्रिया माघ महिनापछि मात्र सुरु हुने देखिएको हो । निर्वाचन आयोगले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम ४ दिन र समानुपातिकतर्फको ८ दिनभित्र सार्वजनकि गरिसक्ने लक्ष्य लिएको छ । आयोगको उक्त लक्ष्यलाई आधार मान्दा पनि माघअघि नयाँ राष्ट्रपति र उपराष्ट्रपति चयन हुने सम्भावना देखिँदैन ।
आयोगका प्रवक्ता नवराज ढकालले समानुपातिकतर्फ दलहरुले प्राप्त गर्ने सिट संख्या यकिन गर्न समस्या नभए पनि त्यसको अन्तिम नामावली तयार गर्न केही समय लाग्ने बताए । ‘समानुपातिकतर्फ दलले पाएको सिट संख्या टुंगो लगाउन समय लाग्दैन,’ निर्वाचन आयोगका सहसचिव समेत रहेका प्रवक्ता ढकालले भने, ‘तर, निर्वाचन आयोगमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीको अन्तिम टुंगो लगाउन समय लाग्ने देखिन्छ ।’ निर्वाचन आयोगले समानुपातिकतर्फको मतगणना सकेपछि दलहरुले पाएको मत र निर्धा्रित सिट संख्याबारे राजनीतिक दलहरुलाई अवगत गराउनेछ ।
प्रवक्ता ढकालका अनुसार दलहरुले आन्तरिक छलफल गरेर आयोगमा बुझाएको समानुपातिकतर्फको बन्दसूचीबाट सांसदको टुंगो लगाउनेछन् । ढकालका अनुसार आयोगले आवश्यक अध्ययन गरेर दलहरुबाट प्राप्त सूचीबाट समानुपातिक सांसदको अन्तिम नामावली सार्वजनिक गर्नेछ र संसद सचिवालयमा बुझाइनेछ । प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष र समानुपातिकको अन्तिम मतपरिणाम प्राप्त भएसँगै राष्ट्रपतिले ३० दिनभित्र संसदको पहिलो बैठक आह्वान गर्नुपर्ने संवैधानिक व्यवस्था छ । संसदको पहिलो बैठक बसेपछि त्यसले औपचारिक रुपमा नयाँ सरकार चयनको प्रक्रिया प्रारम्भ गर्नेछ ।
सरकार गठन, संघ र प्रदेशसभाको गठन भएको एक महिनाभित्र राष्ट्रपति र उपराष्ट्रपतिको चुनाव हुनेगरी निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर त्यसको जानकारी सरकारलाई दिनुपर्ने व्यवस्था संविधानमा छ । सरकारले निर्वाचन हुने मिति तोकिएको सूचना नेपाल राजपत्रमा प्रकाशन गरेपछि मात्र निर्वाचन आयोगले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन प्रक्रिया अघि बढाउनेछ । निर्वाचन कार्यक्रममा उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने, सूची प्रकाशन गर्ने, उजूरी दिने, जाँच गर्ने, नामावली प्रकाशन गर्ने, नाम फिर्ताको समय दिने, अन्तिम नामावली प्रकाशन गर्ने र मतदानको मिति, समय र स्थान उल्लेख गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

चयन प्रक्रिया यस्तो छ ः
राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचनका लागि संघीय संसदका सदस्य र प्रदेश सभाका सदस्य मतदाता रहेको निर्वाचन मण्डलको व्यवस्था गरिनेछ । कानुन अनुसार संघ र प्रदेशसभा सदस्यको मतभार भने फरक छ । संघीय संसदको प्रति सांसदको ७९ मतभार र प्रादेशिक संसदको प्रत्येक सांसदको ४८ मतभार तोकिएको छ । संघीय संसदमा राष्ट्रियसभाका ५९ र प्रतिनिधि सभाका २७५ गरी ३३४ सदस्य हुनेछन् । प्रदेश सभामा ५५० सदस्य रहनेछन् । राष्ट्रपति र उपराष्ट्रपतिको चयनका लागि निर्वाचन आयोगले निर्वाचन मण्डलमा रहेका सदस्यको नाम समावेश गरी मतदाता नामावली तयार गरी प्रकाशन गर्नेछ । निर्वाचन मण्डलमा तत्काल कायम रहेको कुल मतको बहुमत प्राप्त गर्ने व्यक्ति राष्ट्रपति र उपराष्ट्रपति निर्वाचित हुनेछन् ।
कुनै पनि उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेमा सबैभन्दा बढी मत प्राप्त गर्ने दुई उम्मेदवारबीच पुनः मतदात हुनेछ । त्यसमा कुलमतको ५० प्रतिशत बढी मत ल्याउने उम्मेदवार राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् । संविधानको भाग ६ को उपधारा ५ अनुसार कुल मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्न नसकेमा पुनः मतदान हुनेछ । त्यस मतदानमा कुल सदर मतको बढी मत प्राप्त गर्ने उम्मेदवार आगामी ५ वर्षका लागि राष्ट्रपति र उपराष्ट्रपतिमा निर्वाचित हुनेछन् । राष्ट्रपतिले बहालवाला प्रधानन्यायाधीश र उपराष्ट्रपतिले राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिँदै कार्यभार सम्हाल्ने संवैधानिक व्यवस्था छ ।