वाम उम्मेद्वारलाई जिताउन खेलकर्मीहरुको आह्वान, उद्योगी व्यवसायीहरुले गरे रोड सो (फोटोसहित)


बाँके । बाँकेका खेलकर्मीहरुले वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आह्वान गरेका छन् । नेकपा एमाले र माओवादी केन्द्रले सोमबार नेपालगन्जमा आयोजना गरेको खेलकर्मीहरुको भेलामा खेलकर्मीहरुले स्थायी सरकार र विकासका लागि वाम गठबन्धनलाई जिताउन आग्रह गरेका हुन् ।
आठौं राष्ट्रिय खेलकूद प्रतियोगिता पूर्वाधार निर्माण समितिका संयोजक विनोद मैनालीले भने, ‘वाम गठबन्धनले जित्ने निश्चित छ, तपाई हामीले आफ्नो मतको सदुपयोग गर्दै वाम गठबन्धनलाई मतदान गर्नुपर्छ ।’ खेलकुदको विकासका लागि खेलाडी नै हुनुपर्ने नभई सबै क्षेत्रको उत्तिकै भूमिका हुने भएकाले वाम गठबन्धनलाई जिताउनुको विकल्प नभएको संयोजक मैनालीले बताए ।


मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका संयोजक भीम वलीले सम्पूर्ण खेलकर्मीलाई वाम गठबन्धनका उम्मेद्वारलाई मतदान गर्न आग्रह गरे । उनले भने, ‘यहाँ क्षेत्र विशेष होइन, असल र इमान्दार व्यक्तिको खाँचो छ । तपाईहरु ढुक्क हुनुहोस्, वाम गठबन्धनका उम्मेद्वारलाई जिताउनुस् । इमान्दारीता र विकास वाम गठबन्धनबाटै पाउनुहुनेछ ।’
वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले परिवर्तनका आधारहरुलाई भत्काउने होइन सपार्ने उम्मेद्वारलाई भोट दिनुपर्ने बताए । उनले भने, ‘हिजो हामी जो जहाँ भए पनि आज हामीले हाम्रा उम्मेद्वारलाई जिताएर स्थायी सरकार र विकासका पक्षमा लाग्नुपर्छ । स्थायी सरकारले नै सबै क्षेत्रको विकास गर्ने हो । वाम गठबन्धनका उम्मेद्वारलाई जिताउनुस् ।’
वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्सालले समग्र खेल क्षेत्रको विकासका लागि वाम उम्मेद्वार नै काफी रहेकोले मतदानका लागि आग्रह गरे । ‘विगतमा नेपाली काँग्रेसले लामो समय सरकार चलाउँदा कति विकास भयो, कम्युनिष्टहरुले छोटो समय सरकार चलाउँदा कति विकास गरे भन्ने जनतालाई छर्लङ्ग छ,’ संयोजक लम्सालले भने, ‘खेल क्षेत्रको अझै धेरै विकास गर्नुछ । यसका लागि वाम उम्मेद्वारलाई मतदान गर्नुस् ।’


बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार पशुपति दयाल मिश्रले खेल क्षेत्रलाई राज्यले अहिले पनि उपेक्षा गरिरहेको बताए । ‘अहिले पनि खेलाडीहरुको भविष्य सुरक्षित छैन । उनीहरुको भविष्य अन्यौल छ । यसको समाधानका लागि वाम गठबन्धनले जित्नैपर्छ,’ उम्मेद्वार मिश्रले भने, ‘अब वामपन्थीहरुको सरकार बन्छ । यसले खेलाडीको भविष्य सुनिश्चित गर्छ ।’
बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्ताले खेलाडीलाई सरकारी जागिरमा आरक्षणको व्यवस्था गर्नका लागि पहल गरिने बताए । ‘हरेक विद्यालयमा खेल शिक्षकको दरबन्दी हुनुपर्छ । सरकारी जागिरमा आरक्षण हुनुपर्छ । यो काम अब वामपन्थी सरकारले गर्छ,’ उनले भने, ‘प्रदेश नयाँ बन्छ, खेल नियम पनि खेलकुदमैत्री बन्छन् । यसमा ढुक्क हुनुस् ।’

यसैबीच, वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन बाँकेका उद्योगी व्यवसायीहरुले नेपालगन्जमा रोड सो गरेका छन् । बाँके क्षेत्र नं. २ प्रतिनिधि सभाका उम्मेद्वार पशुपति दयाल मिश्र र बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का उम्मेद्वार विजयकुमार गुप्तासहितको उपस्थितिमा रोड सो गरिएको हो । रोड सो मा नेपालगन्जमा उद्योगपति, व्यापारी, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, वाम गठबन्धन निर्वाचन परिचालन कमिटी क्षेत्र नं. २ ‘ख’ का संयोजक रविन्द्र लम्साल लगायतको उपस्थिति रहेको थियो । यसअघि नेपालगन्जका उद्योगी व्यापारीहरुले आइतबार संयुक्त अपील जारी गर्दै वाम गठबन्धनका उम्मेद्वारलाई जिताउन आग्रह गरेका थिए ।