दाङ्ग बम विस्फोटका घाइते म्यादी प्रहरीको मृत्यु

बाँके । दाङ्गको तुलसीपुरमा भएको बम विस्फोटमा परी गम्भीर घाइते भएका एक म्यादी प्रहरीको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा दाङ तुलसीपुर–१२ का २३ वर्षीय विनोद चौधरी रहेका छन् । उनको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेसका शीर्ष नेताहरुको तुलसीपुरमा आयोजित सभालाई लक्षित गरी मंगलबार बम विस्फोट गराइएको थियो । तुलसी बोर्डिङ स्कुल परिसरमा भएको विस्फोटमा ८ जना घाइते भएका थिए ।
प्रदेश र प्रतिनिधिसभा निर्वाचनको क्रममा विभिन्न ठाउँमा विस्फोट भइरहे पनि मृत्यु भएको यो पहिलो घटना हो । गम्भीर घाइते भएका अन्य तीन जनाको पनि कोहलपुर मेडिकल कलेजमै उपचार भइरहेको छ । अरु पाँच जनाको राप्ती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । घाइते हुनेहरुमा म्यादी प्रहरी देबी डिसी, सुनिता चौधरी, नरदेवी बुढाथोकी, बमराज सुनार, नेवबहादुर केसी, पार्वती केसी र हिमलाल रसाइली छन् ।