विपन्न समुदायका उदाहरणीय नायक गणेश


बसन्तप्रताप सिंह/बझाङ । अतितलाई हेर्ने हो भने यो सामान्य कथा हुँदै होइन । यो कथाका नायक हुन्, गणेश वादी । जिल्ला हो बझाङ । घर बनाउने काम गर्छन्, सिकर्मी हुन् गणेश । यही कामको कमाइबाट चिटिक्क परेको एउटा सानो घर बनाएका छन्, मज्जासँग परिवार पालेका छन्, सन्तान पढाएका छन् । यति साधारण काम गरेका, सामान्य रुपमा जीवन निर्वाह गरेका मानिस कसरी नायक ? प्रश्न उठ्न सक्छ । तर, यसका लागि अतितलाई हेर्नुपर्छ, वादी जातिको अतितलाई । पश्चिम नेपालका कतिपय जिल्लामा वादी समुदाय छन् । यो समुदायका महिलालाई अतितमा देह व्यापारमा लगाइन्थ्यो । दलित समुदायभित्रको पनि दलित भनेर अपहेलित यो समुदायले आत्मसम्मानसाथ बाँच्न पाएन, जमिन पाएन, शिक्षा पाएन, सीप पाएन । गास, वास र कपासको कहिल्यै ठेगान भएन, केही पाएन । पीडादायी र पछौटे जीवन मात्र पायो ।
अल्पसंख्यक सीमान्तकृत सहित अन्य केके भन्न सकिन्छ भने हुन्छ वादी समुदायलाई । त्यस्तो हालतमा छ यो समुदाय । यही समुदायका हुन् गणेश वादी । अन्य जातीय समुदायका मानिसले भए यसरी आत्मसम्मानपूर्वक बाँच्नु सामान्य विषय ठानिन्थ्यो । तर, उनी वादी समुदायका हुन्, त्यसैले उनको जीवनको सफलता धेरैका लागि उदाहरणीय र प्रेरणाको विषय बनेको छ । सिकर्मी भए पनि उनी अहिले घर बनाउने ठेकेदार जस्तै भएका छन् । कोटभैरव गाउँका गणेश सिकर्मी काममा यति दक्ष छन् कि वरिपरिका विभिन्न गाउँमा समेत चर्चित र सम्मानित छन् । उनको घर भएको थलारामा २८ परिवार वादी छन् । यहा“का अन्य वादीहरुको न बासको ठेगान छ, न गासको ठेगान छ ।
तर मजदुरी गर्दागर्दै विभिन्न किसिमका घर निमार्ण गर्ने र काठको काम गर्न सिकेका गणेशलाई भने बर्ष भरी नै काम भ्याइ नभ्याइछ । यो इलाकाको सबैभन्दा दक्ष सिकर्मी तथा घर निर्माता को हो भन्यो भने गणेशकै नाम अब्बल भनेर आउँछ । ‘घर बनाउने काम धेरै छ तर म भ्याउँदिन’ गणेश भन्छन्, ‘एक्लैले एक वर्षमा बढीमा ३–४ वटा भन्दा बढी घरको जिम्मा लिन सकिन्न । कतिपय त काम गरिदिएन भनेर दुख मनाउ गर्छन् ।’ आफूले वर्षमा तीनदेखि पाँचवटा घर बनाउने गरेको उनी बताउँछन् । त्यसैगरी विद्यालयहरु र संघसंस्थाको भवनको निर्माण सम्बन्धी काम पनि गर्छन् । वर्षमा पाँचदेखि सात लाख रुपैयाँ सम्म कमाउने गरेको उनले बताए ।


कमाईको कमाल

माथि नै वर्णन गरियो, वादी समुदायको मानिसले आफ्नै घरबार बनाउनु कति ठूलो काम हो भन्ने । मेहनतको कमाईले उनले आफ्नै सानो र चिटिक्क घर बनाएका छन् । वादी समुदायका अरुले वालवालिकालाई स्कूल पठाउन गाह्रो मान्छन् तर गणेशका दुईजना छोराछोरी निजी स्कूल पढ्छन् । समुदायका अरुलाई पनि छोराछोरी पढाउनुपर्छ भनेर गणेश सम्झाउछन् । ‘गणेशको परिवार वादी समुदायको मात्र नभएर कोटभैरव गाउँकै नमुना परिवार हो’ कोटभैरवका जगदीश रोकाया भन्छन ‘सरसफाई, सभ्यता, सीप, मेहनेत सबै दृष्टिले यो परिवार उदाहरणीय छ ।’ गणेशको जीवन मात्र होइन, समाज पनि फेरिँदैछ, पूराना कुरितीबाट समाज क्रमश बाहिर निस्कँदैछ । त्यसैको प्रमाण हो, उनी अहिले पाँच नम्बर वडाको नागरिक सचेतना मञ्चको अध्यक्ष छन् । गज्जब कुरा के भने उनलाई निर्विरोध निर्वाचित गरिएको हो ।
सचेतना केन्द्र मार्फत गा“उको विकासमा एकजुट हुन सबैलाई सम्झाई बुझाई गरिरहेका छन् । उनि मात्रै होइन उनकी श्रीमती कस्तुरी वादी पनि गाविस भरिका महिलाहरुले खोलेको सहकारीको कोषाध्यक्ष भएकी छन् । गा“उका सबैले अन्य वादीहरु र आफूहरुलाई गर्ने व्यवहार फरक भएको उनले महसुस गरेकी छन् । गणेश भन्छन्, ‘हामी आफ्नो सीप चलाएर खान्छौं । कसैसँग माग्नु परेको छैन । मागी खाने भए पो हेला भइन्छ त । हामीलाई कसैले पनि अपमान गरेको थाहा छैन । बरु सम्मान पो गरेका छन् ।’ गणेशले आफ्नो समुदायका अन्य पााच जनालाई पनि आफूसँगै सिकर्मी सीप सिकाइरहेका छन । आफ्नो खुट्टामा नउभिएका कारण हेला भएकाले काम गरेर खानुपर्ने प्रेरणा दिएका छन् । अब गणेशका बारेमा अर्काे कुरा पनि थपौं, उनी जाडरक्सी खाँदैनन् । जबकि वादी समुदायमा मदिरापान सामान्य हो । अरुलाई पनि जाँडरक्सी नखान उत्प्रेरित गर्छन् गणेश । यो कथाको एउटा दुःखद पक्ष छ । यति सामान्य अवस्थाका गणेशलाई हेरेर वाहवाह गर्नुपर्ने, नायक भन्नुपर्ने हालत छ भनेपछि समग्र वादी समुदायको बेहालत कस्तो होला ? यो कथाको सुखद पक्ष चाहिँ के हो भने विकराल अवस्थामा रहेको वादी समुदाय भित्रबाट गणेश जस्ता नायकहरु देखा पर्न थालेका छन् । गणेशलाई स्याब्बास भनौं, प्रोत्साहित गरौं, शुभकामना दिउँ । वादी समुदायभित्रबाट अन्य अनेक गणेशहरुलाई स्वागत गर्न पाइयोस् ।