गुप्ताङ्ग नजिक एसिड राखेर मतदान केन्द्रमा पुगेपछि…

पश्चिम रुकुमको आठबिसकोट ३ स्थित हिमालय मावि मतदान केन्द्र
पश्चिम रुकुमको आठबिसकोट ३ स्थित हिमालय मावि मतदान केन्द्र

रुकुम । प्रदेश र प्रतिनिधि सभाको पहिलो चरण अन्तर्गत आइतबार निर्वाचन हुँदै गर्दा पश्चिम रुकुमका दुई मतदान केन्द्रका मतदान स्थगित गर्नुपर्ने परिस्थिति सिर्जना भयो । यसको कारण थियो, मतपेटिकामा एसिड हालेर जलाइनु । यसमध्ये बाँफीकोट गाउँपालिका–३, हिमालय मावि ‘ख’ केन्द्रमा समानुपातिक र आठबिसकोट नगरपालिका–११ गत्तासैनास्थित रत्ना निमाविमा २१ मंसीरमा पुन निर्वाचन हुने भएको छ । पश्चिम रुकुमकै आठबिसकोटको घटनामा पनि एकजना पक्राउ परेका छन् । तर त्यस सम्बन्धी धेरै जानकारी आएको छैन । नियन्त्रणमा रहेका शंकास्पद व्यक्तिसँग त्यहाँस्थित प्रहरी इकाइले त्यसबारे छानविन गरिरहेको छ ।
आठबिसकोट–३ हिमालय मावि ‘ख’ मतदान केन्द्रमा चाहिँ प्रहरीको सावधानीका कारण एसिड लैजाने व्यक्ति पक्राउ परेकाले मतपेटिका जल्नबाट बचेको छ । एसिड बोकेर जाने रुपा बिकलाई प्रहरीले पक्राउ गरेको छ । र, उनीसँग एक चरणको सोधपुछ पनि गरेको छ । रुपाले निकै चलाखीपूर्वक मतपेटिकामा एसिड हाल्ने योजना बनाएकी रहिछन् । मतदान गर्न जाँदा उनको हातमा केहीपनि थिएन । मतदान गर्न जानुअघि अरुलाई झैं रुपाको पनि शरीरको सामान्य खानतलासी लिइएको रहेछ । तर केही भेटिएन । तर मतपत्र लिइसकेपछि छाप लगाएर जब मतपेटिकामा मतपत्र खसाल्ने बेला भयो, उनको हर्कत असामान्य देखियो । त्यसपछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिए । खासमा उनले मतपेटिकामा एसिड हाल्न खोजेकी रहिछन् । कति चलाखीपूर्वक तरिका अपनाइएको रहेछ भने, हामीपनि छक्क परेका छौं ।
एसिड भनेको त तरल पदार्थ हो । त्यसको प्रयोग वा दुरुपयोग गर्ने विधि भनेको एसिडको रुपमा रहेको तरल पदार्थ खन्याइदिने हो । तर, त्यसको प्रयोग गर्ने विभिन्न तरिका हुँदोरहेछ । रुपाले हो त्यही बैकल्पिक विधि अपनाएकी रहिछन् । त्यो के भने, विशेष प्रकारको पाउडरमा एसिड हालेर सम्बन्धित ठाउँमा त्यसको प्रयोग गर्न सकिँदो रहेछ । पाउडरमा एसिड हालेपछि त त्यसलाई सानो प्लाष्टिक वा सीसाको बोतल वा अरु कुनै सानो भाँडोमा राखे भैहाल्यो । पूर्णरुपमा तरल पदार्थको रुपमा रहेको एसिडले जसरी तत्काल असर गर्छ, यसरी पाउडरमा राखेको एसिडले तत्काल असर त पुर्याउन सक्दैन । तर केही क्षणपछि चाहिँ त्यसले असर पु¥याउन थाल्छ ।
सम्भवतः दुई मतदान केन्द्र, जहाँको मतदान स्थगित गर्नु परेको छ, त्यहा पनि यसैगरी एसिड प्रयोग गरिएको हुनुपर्छ । रुपाले एसिड मिसाइएको पाउडर त्यसरी नै शरीरको संवेदनशील भागमा लुकाएकी रहिछन् । मतपेटिकामा मतपत्र खसाल्ने बेला जब उनको हर्कत असामान्य देखियो, त्यसपछि प्रहरीहरुले उनलाई पक्राउ गरे । रुपालाई पक्राउ गरेका प्रहरी सहकर्मीहरुले बताए अनुसार उनको साथमा रहेको एसिड पाउडर संवेदनशील अंगको भित्री पोशाकमा राखिएको रहेछ । धन्न, उनलाई समयमै पक्राउ गरिएकाले त्यो मतदान केन्द्रको मतपेटिका जोगिन सक्यो । रुपालगायत मतदान केन्द्रमा पक्राउ परेका अन्यसँग प्रहरीले छानविन जारी राखेको छ । (पश्चिम रुकुमका प्रहरी प्रमुख डिएसपी राजेन्द्रप्रसाद धमलासँग गरेको कुराकानीमा आधारित)