वाम गठबन्धनको समर्थनमा मुस्लिम समुदाय


बाँके । वाम गठबन्धनको समर्थनमा मुस्लिम समुदायले शनिबार नेपालगन्जमा र्याली निकालेका छन् । एमालेको पार्टी कार्यालयबाट निस्केको र्याली त्रिभुवन चौक हुँदै एकलैनी घुमेर व्यापार संघको कार्यालय अगाडि कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई बाँके क्षेत्र नं। २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं। २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ता, नेपाल मुस्लिम इत्तेहाद संगठनका उपाध्यक्ष ताज मोहम्मद, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल वैश्य, बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी, नेताहरु मिसबाहुल अन्सारी, सकिल जसगढ लगायतले जात, समुदाय, भूगोलका आधारमा नभई वाम गठबन्धनले सबै पछाडी पारिएका समुदायको लागि काम गर्ने बताए ।
समग्र जातजाती, भाषाभाषी र समुदायलाई जोड्ने काम वाम गठबन्धनले गर्ने वक्ताहरुले बताए । साना साना दलहरु आफ्नो स्वार्थका लागि केन्द्रीत हुने भएकाले यसपाली बहुमत ल्याउने वाम गठबन्धनलाई जिताउन मुस्लिम समुदायका अगुवाहरुले आग्रह गरेका छन् ।