वाम गठबन्धनलाई भोट दिँदा नाकाबन्दीको हल्ला गलत : वाम उम्मेद्वार


बाँके । वाम गठबन्धनलाई जिताउँदा भारतले नाका बन्द गरेर दुख दिन्छ भन्दै फिजाइएको भ्रमलाई नेपालगन्ज १४ मा पुगेका उम्मेद्वारहरुले चिरेका छन् । वाम गठबन्धनको बहुमत आउने र त्यसले भारत र चीनसँग अझ बढि मित्रवत सम्बन्ध कायम गर्ने उम्मेद्वारहरुले बताएका छन् ।
दक्षिणपूर्वी क्षेत्रमा पर्ने नेपालगन्ज १४, बाबुगाउँ र बालेगाउँमा शनिवार घरदैलोमा पुगेका बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्र, बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ता, जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक दिनेशचन्द्र यादव, बाँके क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, नेता अत्तहर हुसेन फारुकी, बाँके क्षेत्र नं. २ प्रदेशसभा ‘ख’का निर्वाचन परिचालन कमिटीका संयोजक रविन्द्र लम्सालले वामपन्थीको बहुमतको सरकार बन्ने निश्चित भएकाले कसैको बहकाउमा नपरी वाम गठबन्धनलाई जिताउन आग्रह गरे ।
उम्मेद्वारद्वय मिश्र र गुप्ताले बाबुगाउँ र बालेगाउँ क्षेत्रलाई कृषिको पकेट क्षेत्र बनाएर विशेष प्याकेज दिने प्रतिवद्धता व्यक्त गरे । ‘अब आन्दोलन होइन, स्थायी सरकार बनाएर विकास गर्नुछ । मैले सुरु गरेको सबै विकासका कामहरु पशुपति र विजयजीले पुरा गर्नुहुन्छ,’ जिल्ला निर्वाचन परिचालन कमिटीका संयोजक यादवले भने, ‘तपाईहरुले ढुक्क भएर उहाँहरुलाई मत दिनुस् ।’ बालेगाउँ र बाबुगाउँको घरदैलोमा समानुपातिक उम्मेद्वारहरु, निर्वाचन परिचालन कमिटी, क्षेत्र नं. २ का सहसंयोजक निरक गुरुङ, प्रमोद धिताल, अक्कलबहादुर बम, दत्तप्रसाद आचार्यलगायत सहभागी रहेका थिए ।