प्रसिद्ध र प्रणबको मिलनले शोकाकुल बनेको प्रचण्ड निवासमा ‘खुसी’

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशका दुई श्रीमती र छोरा
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पुत्र प्रकाशका दुई श्रीमती र छोरा

सीताराम बराल/काठमाडौं । एकमात्र छोरा प्रकाशको निधनका कारण नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सीता दाहाल यतिबेला गहिरो शोकमा छन् । परिवारको एक महत्वपूर्ण सदस्य सम्झनासाथ प्रचण्ड, सीतालगायत प्रचण्ड परिवारका अन्य सदस्यहरु भक्कानिन्छन् । प्रकाशको निधनका कारण प्रचण्ड परिवारमा अथाह शोक छ। तर यो शोकलाई बिस्तारै भुलाउने माध्यम बनेको छ, प्रकाशका दुई छोराहरु प्रसिद्ध र प्रणब दाहालबीचको गहिरो मिलन । यसमध्ये जेठा प्रसिद्ध जेठी बुहारी सिर्जनातर्फका छोरा हुन् भने कान्छा प्रणब कान्छी बुहारी बीनातर्फका ।
हुन त, प्रसिद्ध र प्रणब दुवै प्रचण्डको लाजिम्पाटस्थित निवासमा हुर्किएका हुन् । तर, उनीहरुबीच भेटघाट हुने अवसर भने यसअघि जुरेको थिएन । जतिबेला प्रसिद्ध हुर्कंदै थिए, प्रकाश बीनासँगको प्रेम सम्बन्धमा परे । त्यसपछि सिर्जनाले लाजिम्पाट निवास छाडिन्। र, कास्कीस्थित माइती निवासमा गएर बसिन् । प्रसिद्धसहित सिर्जनाले लाजिम्पाट निवास छाडेको केही समयपछि प्रकाश–बीना औपचारिक रुपमा नै प्रणय सम्बन्धमा गाँसिए । र, बीनातर्फबाट प्रकाशका दोस्रो सुपुत्रका रुपमा प्रसिद्ध जन्मिए । तर, सिर्जनाले लाजिम्पाट छाडेका कारण प्रसिद्ध–प्रणबबीच भेटघाट हुन पाएन ।
केटाकेटीसँग खेल्न–घुलमिल हुन असाध्यै रुचाउने नेता हुन् प्रचण्ड । आफ्नै काखका हुर्केको नाति आमाका साथ घर छाडेर हिँडेपछि प्रचण्ड पनि बेलाबेला बिरक्तिन्थे र नाति भेट्न पोखरा पुग्थे । आफू बसेको होटलमा नातिलाई बोलाउँथे र समय बिताउँथे । सिर्जनाले लाजिम्पाट निवास छाडेर कास्की गएपछिका ४–५ वर्ष यसैगरी बिते । यसबीचमा बीनातर्फबाट नाति प्रणब जन्मिए । प्रणबप्रति त झन् प्रचण्डको मायाँ नहुने कुरै भएन । तर, उनले प्रसिद्धलाई पनि बिर्सिएनन् । त्यसैले पछिल्लो पटक ३० कार्तिकमा पोखरा जाँदा पनि प्रचण्डले नाति प्रसिद्ध सहित बुहारी सिर्जनालाई भेटे । नातिलाई काखमा लिए, म्वाइँ खाए र ‘राम्रोसँग पढेर ज्ञानी मान्छे बन्नुपर्छ है’ भन्ने आशिक दिएर काठमाडौं फर्किए ।
उत्तिकै माया भएपनि यी दुई नाति–बालकलाई सँगै भेटघाट गराउने स्थिति थिएन । किनभने, लाजिम्पाट निवासमा बीनाको प्रवेशका कारण सिर्जना आउने स्थिति थिएन । आमा सिर्जना नै नआउने भएपछि ७ वर्षीय प्रसिद्ध पनि कसरी आइपुगुन् लाजिम्पाट ? र, भेटुन् भाई प्रसिद्धलाई ? प्रणब त तीन बर्षमा दौडँदै छन् । यी अबोध बालकलाई घर–परिवार बाहेक बाहिरी संसारबारे केही थाहा हुने कुरै भएन । न त प्रसिद्धलाई थाहा छ, ममी सिर्जना बाहेक ‘सानु ममी बीना र उनीतर्फबाट एकजना भाई छन्’ भन्ने कुरा नै । त्यसैले, प्रसिद्धले पनि प्रणबसँग भेटको चाहना राख्ने कुरै भएन । यसरी कहिल्यै भेट नभएका यी दुई अवोध बालकहरु आइतबार बेलुकी लाजिम्पाटस्थित प्रचण्ड निवासमा भेट भए । जब प्रकाश गम्भीर विमार भएर अस्पताल लगिएको सिर्जनाले सुनिन्, विहानै नर्भिक अस्पताल पुगेकी सिर्जना प्रकाशको पार्थिव शरीर देख्नासाथ ढलिन्, बेहोस बनिन् ।
उता कञ्चनपुर–१ मा उम्मेदवार रहेकी बीनापनि प्रकाश विमार भएको सुनेपछि हान्निदै काठमाडौं आइपुगिन् । जब, अस्पतालमा राखिएका प्रकाश अब जीवित छैनन् भन्ने थाहा पाइन्, उनी पनि बेहोस् बनिन् । त्यसरी नै बीना पनि बेहोस बनेर ढलिन्, जसरी तीन घण्टाअघि त्यहीँ सिर्जना ढलेकी थिइन् । अस्पतालमा सिर्जना र बीनालाई फरक फरक कक्षमा उपचारका लागि राखियो । केही समयपछि सिर्जना र बीना दुवैजना होसमा आए । फरक फरक कक्षमा राखिएका सिर्जना र बीना दुबैले प्रकाशलाई अन्तिम श्रद्धाञ्जली अर्पण गर्न माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडा र पशुपति आर्यघाट जान खोजे । तर, सिर्जनामात्र आर्यघाट पुग्न सकिन् । सिर्जनासँगै प्रसिद्ध पनि आर्यघाट गए । र, पिताको जलिरहेको शब माओवादी केन्द्रका नेता डिलाराम शर्माको काखका बसेर हेर्दै टोलाइरहे । उता, अलिक बिसेक भएपछि बीनालाई लाजिम्पाट लगियो । उनीसँगै प्रणब पनि लाजिम्पाट गए ।
आर्यघाटमा प्रकाशको अन्तिम विदाई सम्पन्न भएपछि सिर्जनापनि लाजिम्पाट नै गइन् । आमासँगै प्रसिद्धले पनि ४ वर्षपछि लाजिम्पाट निवास टेके, जहाँ उनी हुर्किएका थिए । यसरी दिउँसै लाजिम्पाट पुगेका प्रकाशका कान्छा सुपुत्र प्रणब र जेठा सुपुत्र प्रसिद्धबीच आइतबार बेलुकी पहिलो पटक भेट भयो । परिवारका सबै सदस्य शोकमा छन् । न सात बर्षीय प्रसिद्ध के भएको हो, बुझ्ने अवस्थामा छन्, न त तीन वर्षीय कान्छा प्रणब नै । शोकमा रहेकाले दुबैका ममीहरु पनि उनीहरुसँग धेरै कुराकानी गर्ने अवस्थामा छैनन् । हजुरबुबा प्रचण्ड पनि समवेदनका लागि आउने शुभेच्छुकहरुसँगको कुराकानी र अर्धाङ्गिनी सीतालाई सम्झाउँदैमा व्यस्त छन् । त्यसैले, शोकाकूल लाजिम्पाट निवासमा तोतेबोलीका यी दुई अवोध बालकहरुको समय बिताउने माध्यम उनीहरु नै बनेका छन् । अर्थात्, प्रसिद्धका लागि प्रणब र प्रणबका लागि प्रसिद्ध । प्रकाशका मामा हिमराज पौडेलका भनाईमा, प्रसिद्ध र प्रणब यति मिलेका छन् कि, सिंगो प्रचण्ड निवास शोकमा भएपनि उनीहरुबीचको मिलनले त्यो परिवारलाई केही राहत दिएको छ ।
प्रकाशका तोतेबोलीका दुई छोराहरु सँगै खेल्न थालेपनि सिर्जना र बीनाबीच भने भेटघाट र बोलचाल भएको छैन । शोकमा रहेका दुवैजनालाई लाजिम्पाट निवासमा फरक–फरक कोठामा बस्ने व्यवस्था मिलाइएको छ । आमाहरु पर्खालले छुट्ट्याइएका फरक फरक कोठामा रहेपनि त्यो पर्खालले छोराहरूबीचको मित्रतालाई छुट्ट्याउन सकेको छैन । भनिन्छ, बाबु–आमाका लागि सन्तान यति प्यारा हुन्छन् कि, आफ्नो सन्तानले कसैसँग मित्रता गाँस्यो भने उनीहरुका बाबुआमा मित्रताको डोरीमा बाँधिन पुग्छन्, शत्रुता भयो भने उनीहरु पनि शत्रुता साँध्न पुग्छन् । भेटघाटको दुई दिनमै सुमधुर सम्बन्ध विकसित गरेका प्रसिद्ध र प्रणबले छिट्टै ममीहरु सिर्जना र बीनाबीचको सम्बन्ध पनि सुमधुर बनाउन सकुन् !