शोकमा प्रकाशको ससुराली गाउँ

वाशुदेव मिश्र/पोखरा । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको निधनपछि उनको पहिलो ससुराली गाउँ हेम्जापनि शोकमा डुवेको छ । प्रकाशको असामयिक निधनबाट आफूहरु शोकाकूल भएको प्रकाशपत्नी सिर्जनाका बुबा देवकृष्ण त्रिपाठीले बताए । हेम्जाका देवकृष्ण त्रिपाठीले २०६४ साल माघमा आफ्नी कान्छी छोरी सृजना त्रिपाठीको ‘कन्यादान’ गरेका थिए । त्यो बेला पोखराको पृथ्वीचोकमा रहेको ‘वाइसिएल क्याम्प’मा भएको जनवादी बिवाहमा पिता देवकृष्णको कन्या ग्रहण गर्ने कुटुम्ब थिए, माओवादी अध्यक्ष प्रचण्डका सूपुत्र प्रकाश दाहाल । भर्खरै शान्ति प्रक्रियामा आएका प्रचण्ड कास्कीको लेहाडेमा जन्मेका थिए भने देवकृष्णको घर लेहाडे तलको हेम्जा ।
अझ, प्रचण्डकी अर्धा्ङ्गिनी सीता दाहालको माइती पनि हेम्जामै हो । बिहेको लागि कन्या खोज्ने काममा सीता नै सक्रिय थिइन् । लडाकुको कडा सुरक्षाबीच भएको बिहेले राष्ट्रिय चर्चा पायो । प्रचण्डकी बुहारी तथा प्रकाशकी अर्धाङ्गिनी बन्ने सौभाग्य पाएकी सृजनालाई २०६७ सालमा पुत्रलाभ भयो । अहिले प्रकाश–सृजना पुत्र प्रसिद्ध ८ वर्षमा हिँड्दैछन् । पोखराको प्राइम मण्टेश्वरी र कुमुदिनी होम्समा पढेका उनी यतिबेला आमासँगै काठमाडौं छन् । ‘भर्खरै नाती पढाउनको लागि सृजना पनि काठमाडौं गएकी हो’, ज्वाईंको निधनको खबरले द्रवित देबकृष्ण त्रिपाठीले भने, ‘अस्ति भर्खर (कार्तिक १० गते) पोखरा आउँदा उहाँ (प्रचण्ड)ले नाति र सृजनालाई भेट्नु भएको थियो ।’ अति व्यस्तताको बीच पनि प्रचण्डले नाती र छोरीलाई भेटेको त्रिपाठीले सुनाए ।
पाउ पुज्नुपर्ने ज्वाईं निधनले मर्मामत छन्, यतिबेला त्रिपाठी । सृजना माइत बसेकाले सम्बन्ध गाढा नभए पनि नातीको ठाउँमा नाती र ज्वाईँको ठाउँमा ज्वाईं भएकाले उनी ढुक्क थिए । ‘उहाँ( प्रचण्ड)ले पनि बस्ने भनेको कि घर, कि माइत त हो नि भन्नुहुन्थ्यो’, त्रिपाठीले सुनाए, ‘हामीसँग त्यस्तो कुनै मनमुटाव थिएन ।’ सबै कुरा ठीकठाकै चल्दै गर्दा दुःखको खवर सुन्नुपरेको उनको भनाई छ । सृजना दशैँ तिहारतिर हेम्जामै थिइन् । उनका अनुसार ज्वाईं प्रकाशसँग भने केही समययता भेटघाट भएको थिएन । प्रचण्डसँग भेट हुँदा भने, घरायसी कुराकानी हुने गथ्र्यो । सिर्जना यतिबेला काठमाडौं छिन् । प्रकाशको निधनको खबरले उनीपनि बेहोस् अवस्थामा छिन् । देवकृष्णले भने, ‘हामी सबै शोकाकूल अवस्थामा छौं । जे नहुनुपर्ने हो, त्यही भयो ।’