इन्द्रपुर र खजुराखुर्दमा लोकतान्त्रिक गठबन्धनको चुनावी सभा (फोटोफिचरसहित)


बाँके । चुनावीसभासँगै घरदैलो अभियानमा पुगेको काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धन क्षेत्र नम्वर ३ का प्रतिनिधिसभा उम्मेदवार बादशाह कुर्मी र प्रदेशसभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहसँग जानकी गाउँपालिका–३ इन्द्रपुरका स्थानीयबासीले सडकको माग गरेका छन् ।
नेपालगन्ज उपमहानगरपालिकासँगै सटेको गाउँ भएपनि बर्सोदेखि सडक समस्या उस्तै रहेको भन्दै सम्वोधनको प्रयास गरिदिन उनीहरुले आग्रह गरेका थिए । ६४ बर्षीय जिमिहार कुर्मीले इन्द्रपुर गाउँ विकास निर्माणमा पिछडिएको भन्दै सम्बृद्ध गाउँ निर्माणको भरपर्दो आशा काँग्रेस मात्रै भएको बताउनुभयो ।
घरदैलो अघि भएको चुनावी सभालाई सम्वोधन गर्ने नेताहरुले मुलुकको विकास गर्ने पार्टी काँग्रेस बाहेक अरु हुनै नसक्ने वताए । ‘काँग्रेसले बनाएका पुल पुलेसा, बाटोघाटो सशस्त्र द्वन्द्वमा माओवादीले भत्काउने काम गर्यो, एमालेले नारा लगायो तर काम गरेको देखिएन् नेताहरुले भने, ‘नत्र मुलुक धेरै अघि पुगिसकेको हुन्थ्यो, संबिधान जारी भएको छ, अव विकास निर्माणको नेतृत्व लिएर काँग्रेस अघि बढ्छ त्यसका लागि तपाईहरुले काँग्रेसलाई विजयी गराउनु प¥यो ।’
चुनावीसभालाई सम्वोधन गर्दै प्रतिनिधिसभाका उम्मेदवार बादशाह कुर्मीले आफ्नो समुदायको विकासका लागि नेतृत्वदायी भूमिका खेल्ने वताए । ‘यसअघि सभाषाद हुदा पनि मैले यहाँको विकास निर्माणका लागि अहम भूमिका निर्वाह गरेको छु, अव पनि विकास र सम्बृद्धिकै लागि नेतृत्वमा जान खोजेको हुँ ।’ कुर्मी समुदाय शिक्षा, स्वास्थ्य लगायतको पहुँचभन्दा टाढा रहेको भन्दै उनले आफु पनि यही समुदायको भएकाले सबै पिरमर्का बुझेर अघि बढ्ने प्रतिबद्धता जनाए ।
प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाहले काँग्रेसको ध्यान अव सम्बृद्धि र विकास रहेकाले आफ्नो उम्मेदवारी पनि त्यसैको लागि भएको वताए । कम्युनिष्ट जस्ता आश्वसनका पोकाहरु काँग्रेसले नबाड्ने भन्दै आवश्यकताका आधारमा प्रत्येक टोल, गाउँ छरछिमेकको विकास गरिने वताए ।
चुनावीसभालाई पूर्व सांसद एंव समानुपातिक उम्मेदवार आशा विक, क्षेत्रीय सभापति नक्की खाँ, दलित सेवा संघका केन्द्रीय उपाध्यक्ष कृष्ण विक रसाइली, प्रचारप्रसार संयोजक रमेश सिजाली, तरुण दलका क्षेत्रीय सभापति गिरीमणीराज अधिकारी लगायतले सम्वोधन गरेका थिए । त्यसैगरी आजै मध्यान्ह खजुराखर्दमा पनि चुनावी सभा गरिएको छ ।