चुनावी एजेन्डा बोकेर मत माग्दै वाम गठबन्धनका उम्मेद्वार (फोटोफिचरसहित)


बाँके । संयुक्त वाम गठबन्धन क्षेत्र नं. २ बाँकेले घरदैलो अभियानलाई तीव्र बनाएको छ । मतदाताहरुको घरदैलोमा पुगेर उम्मेद्वारहरुले मत माग्न थालेपछि निर्वाचनको सरगर्मी बढेको छ । संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरु मतदाताको घरदैलोसम्म चुनावी एजेन्डा बोकेर मत माग्न लागेका छन् । निर्वाचनको मिति नजिकिदै गर्दा संयुक्त वाम गठबन्धनका उम्मेद्वारहरुलाई भ्याईनभ्याई भएको छ ।
बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्रले र क्षेत्र नं. २ प्रदेशसभा ख का उम्मेद्वार विजयकुमार गुप्ताले संयुक्तरुपमा बिहीबार नेपालगन्जको वडा नं. ४ मा पर्ने सल्यानी बंगला, घोसीटोल, बसपार्क लगायतका क्षेत्रमा चुनावी एजेण्डासहित घरदैलो गरेका छन् । घरदैलोपछि संयुक्त वाम गठबन्धनको क्षेत्र नं. २ स्तरीय संयुक्त युवा भेलालाई सम्बोधन गर्दै उम्मेद्वारह पुनः घरदैलोमा निस्किएका थिए ।
संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादवले वाम गठबन्धनलाई मत दिन नेपालगन्जबासीलाई आग्रह गरेका छन् । बाम गठबन्धनले नै मुलुकलाई राजनैतिक अस्थिरताबाट जोगाउने र स्थायी सरकार निर्माण हुने भएकाले यस क्षेत्रमा बिकास हुने बताउँदै संयोजक यादवले नेपालगन्ज–४ का मतदाताहरुसँग मत मागेका थिए ।
वाम गठबन्धनलाई मत दिएर बिजय गराउन आग्रह गर्दै संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्यले क्षेत्र नं. २ को संवृद्धिको लागि बाम गठबन्धनको विकल्प नभएकोले आफ्ना उम्मेद्वारहरुलाई मतदान गर्न आग्रह गरे । बाँके क्षेत्र नं. २ का प्रतिनिधिसभा उम्मेद्वार पशुपतिदयाल मिश्रले नेपालगन्ज–४ का साथै नेपालगन्ज–२१ को पुरैनीमा घरदैलो गरेका छन् ।
घरदैलोमा संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समितिका संयोजक दिनेशचन्द्र यादव, संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन समिति क्षेत्र नं. २ का संयोजक दामोदर आचार्य, सह–संयोजक निरक गुरुङ लगायतका संयुक्त वाम गठबन्धनका नेता कार्यकर्ताहरुले घरघरमा पुगेर मतदातासँग मत मागेका थिए ।