जग्गा रजिष्ट्रेसनमा महिलाको आकर्षण बढ्दै

खम्बप्रसाद पुन/बाँके । नेपाली समाजमा महिलाको नाममा सम्पत्ती नामसारी गर्न केही समय पहिले निकै मुस्किल थियो । तर, घरजग्गा रजिष्ट्रेसन गर्दा सरकारले महिलाका लागि २५ प्रतिशत छुटको व्यवस्थालाई प्रभावकारीरुपमा कार्यान्वयन गरेसंँगै मालपोत कार्यालय, बाँकेमा रजिष्ट्रेसनमा महिलाको आकर्षण ह्वात्तै वृद्धि भएको छ । मालपोत कार्यालय, बाँकेका सूचना अधिकृत पुष्पा श्रेष्ठ महिलाका नाममा रजिष्ट्रेसन गर्दा पहिले ३० प्रतिशत छुट रहेकोमा यो आर्थिक वर्षदेखि २५ प्रतिशत रहेको र करीब ६५ देखि ७० प्रतिशतको अनुपातमा महिलाको नाममा रजिष्ट्रेसन हुने गरेको बताउँछिन् । उनले सरकारले महिलाको नाममा रजिष्ट्रेसन गर्दा छुटको बारेमा भएको व्यवस्था प्रचारप्रसारमा आएपछि पुरुषको तुलनामा महिलाको नाममा रजिष्ट्रेसनमा वृद्धि भएको उल्लेख गरिन् ।
गत आर्थिक वर्षमा मालपोत कार्यालय, बाँकेमा भएको २४ हजार ६८६ कूल रजिष्ट्रेसन मध्ये ६५ प्रतिशत महिलाको नाममा रहेको मालपोत कार्यालयको अभिलेखमा उल्लेख छ । पछिल्लो समय रजिष्ट्रेसन छुटसंगै पुरुषभन्दा महिलाको नाममा घरजग्गाको रजिष्ट्रेसन हुन थालेपछि महिलाहरु कानूनीरुपमै सम्पत्तिको हकदार बनेका छन् । आफ्नो नाममा जग्गा रजिष्ट्रेसन गर्न आएकी नेपालगन्ज–१ धम्बोझीकी सीता सुवेदी सम्पत्ति महिलाको नाममा हुने प्रक्रिया बढेसंगै महिलाहरु जिम्मेवारी बन्नुका साथै महिला हिंसामा कमी आएर समानतातर्फ समाज उन्मुख भएको बताउँछिन् ।
केहीवर्ष पहिले नै श्रीमानले करीब २ विगाह जग्गा आफ्नो नाममा गरिदिएको बताउने बाँके खजुरा गाउँपालिका–४ डि गाउँकी मनमाया थापा आफ्नो नाममा सम्पत्ती भए पनि आफुले घरपरिवारको सरसल्लाहमै काम गर्दै आएको बताइन् । उनले यसरी महिलाको नाममा रजिष्ट्रेसन गर्दा छुटको व्यवस्थाका कारण महिलाहरु पनि सम्पत्तीका हकदार बन्नुका साथै कारोवार गर्दा श्रीमान अथवा अन्य सदस्य घरमा नभए पनि सजिलो हुने गरेको आफ्नो अनुभव सुनाइन् । यसरी रजिष्ट्रेसन गर्दा छुटकै बहानामा भए पनि पछिल्लो समय अधिकांश महिलाहरु सम्पत्तीको कानूनीरुपमै हिस्यदार बन्दा महिला सशक्तिकरणमा समेत यसले प्रभाव पारेको महिलाहरुको भनाई छ ।