तिहार : हात्तीसँग भाईटिका (फोटोफिचर)

बाँके । तिहारमा सामान्यतया दाजुभाई र दिदीबहिनीले टिका लगाउने गर्दछन् । दिदीबहिनी नहुने दाजुभाईले फुपु वा कसैलाई दिदीबहिनी बनाएर टिका लगाउने गर्दछन् । तर बाँके राष्ट्रिय निकुञ्जमा भने यस पटकको तिहारमा हात्तीलाई टिका लगाएर तिहारको सुरुवात गरियो । बाँके निकुञ्जमा रहेका चार वटा हात्तीमध्ये ७२ बर्षिय पोथी हात्ती शान्तिकलीलाई टिका लगाएर तिहारको सुरुवात गरिएको थियो ।
मानव हात्ती सहअस्तित्व कायम गर्नका लागि कली भाईटिका कार्यक्रमको आयोजना गरिएको पर्यटन व्यवसायी कृष्ण चौधरीले जानकारी दिए । कली भाईटिका कार्यक्रमको आयोजना गरि सुरु गरिएको भाईटिकामा बाँकेका प्रहरी प्रमूख टेकप्रसाद तामाङ, बैजनाथ गाउँपालिकाका अध्यक्ष मानबहादुर रुचाल, प्रेस चौतारी नेपालका पूर्व केन्दीय उपाध्यक्ष कृष्ण अधिकारी, नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य जनक नेपाल, नेपाल पत्रकार महासंघ बाँकेका सहसचिव काशीराम शर्मा लगायतलाई शान्तिकलीद्वारा टिका र माला लगाइएको थियो । सो अवसरमा देउसी भैलो पनि खेलिएको थियो । शब्द /तस्वीर : सत्यपाटी