समाजले दियो अपमान, बदलामा उनले दिइन् ‘फुल’


करुणा देवकोटा/काठमाडौँ । २०५० सालमा लुगा सिलाउने पेशा अपनाउदाँ फुलकुमारी अधिकारीले ठूलै अपमान सहनु पर्यो । कारण, त्यो बेलाको नेपाली समाजमा निश्चित जातका मानिसले मात्र लुगा सिलाउने हो भन्ने आम सोचाई थियो । त्यही कुप्रथाको शिकार बनिन्, फुलकुमारी पनि । फुलकुमारी कथित उपल्लो जातकी थिईन् । त्यतिवेला ‘उपल्लो’ जातले लुगा सिलाउने काम गर्दैनथे । त्यसैले फुलकुमारीले लुगा सिलाउने व्यवसाय अँगालेपछि उनलाई ‘यो त तल्लो जातकी रहिछ’ भनेर घृणा गर्न थालियो । उनका बावुआमाले होटल व्यवसाय गर्थे । फुलकुमारीले लुगा सिलाउने पेशा अँगालेपछि त्यसको सजाय उनका बावुआमाले समेत भोग्नु पर्यो । ‘यिनीहरु तल्लो जातका रहेछन्, पकाएको खानेकुरा खान हुँदैन’ भनेर ग्राहकले छिःछिः गर्न थाले ।
उनले सात कक्षा भन्दा वढि पढेकी छैनन् । समाजमा उनले अंगालेको पेशालाई सकरात्मकभन्दा नकरात्मक दृष्टिले हेरिन्थ्यो । तर पनि अहँ उनले हरेस खाइनन् । परिवारको साथ अनि सहयोगले उनलाई अगाडि बढ्न हौसला दिइरह्यो । समाजको अवरोधका बावजुद उनले आफू मात्र लुगा सिलाउने होईन आफू जस्तै धेरै महिलालाई लुगा सिलाउने तालिम दिन थालिन् । काभ्रेस्थलीकी रीता खड्की उनको पहिलो प्रशिक्षार्थी हुन् । काभ्रेस्थलीबाट झिसमिसे बिहानमा नै तरकारीको भारी बोकेर मनमैजु पुग्थिन् रीता । तरकारी बेच्थिन् अनि फुलकुमारी भएको ठाउँमा सिलाई कटाईको तालिम लिन पुग्थिन् । रीता जस्ता धेरै महिलाले उनीबाट सिलाई कटाइको तालिम लिए । उनले अहिलेसम्म करिब ७० जनाभन्दा बढीलाई यस्तो तालिम दिईसकेकी छिन् । तालिम लिएका आत्मविश्वासी महिलाहरू देख्दा उनलाई झन् अघि वढ्न प्रेरणा मिल्थ्यो । त्यसपछि उनकै पहलमा मनमैजु महिला सामुदायिक अध्ययन केन्द जन्मियो । महिला सशसक्तिकरणमा काम गर्दै आएको यस केन्द्रले नारी चेतना महिला विद्यालय सञ्चालन गरिरहेको छ । यस विद्यालयमा १४ वर्षदेखी ६० वर्ष उमेर नाघेका महिलाहरु पढ्नका लागि आउँछन् ।
तीन सिफ्ट गरेर अध्ययनका लागि आउने महिलाहरुको संख्या ६० पुगेको छ । भूकम्पअघि ७५ देखी ८० जनासम्म अध्ययनका लागि आउँथे । तर, भुकम्प पश्चात कोही बसाइँ सर्ने त कोही नयाँ घर बनाउने काममा व्यस्त हुँदा अध्ययनका लागि आउनेको संख्या घटेको छ । यस विद्यालयमा प्रा.वि. तहसम्मको अध्ययन हुन्छ । महिलाहरु घरको कामधन्दा सकेर अध्ययनका लागि आउँछन् । तर, उनीहरूको उपस्थिती नियमित भने हुँदैन । ‘पढ्नका लागि घरबाट निस्कन पनि महिलाहरूलाई समस्या छ ।’ फुलकुमारी भन्छिन्, ‘घरदैलो अभियान सञ्चालन गरेर यति विद्यार्थी (६० जना) भर्ना भएपनि नियमित आउनेको संख्या २५ जनाभन्दा धेरै छैन ।’ घर व्यवहारका कारण महिलाहरुलाई पढ्न आउन समस्या छ । अझ चाडपर्व आएको, धान रोप्ने र काट्ने समय परेको बेला महिलाहरुको उपस्थिती कहिले काँही त शुन्य बराबर हुन्छ । कोही पाहुना घरमा आए महिलाहरु पढ्दा पढ्दै घर जानु पर्ने बाध्यता छ । ‘बुढेसकालमा पढेर महिलाले के गर्छन, जागिर खाने त्यस्तै हो’ भनेर टिप्पणी गर्ने गरिएको फुलकुमारीको अनुभव छ । समाजको यही सोचई बदल्न पनि फुलकुमारी लागि परेकी छिन् ।
अध्ययन केन्द्रले नागरिक समानता बचत तथा ऋण सहकारी संस्था लि. पनि संचलान गरिरहेको छ । २५ जना शेयर सदस्यबाट सुरु यस सहकारीमा हाल दैनिक बचत गर्नेको संख्या १२ सयजना पुगेको छ । दैनिक ५० रुपैयाँदेखी १५ सय रुपैयाँसम्म बचत गर्नेहरु छन् । होटल व्यवसायी, सुनचाँदी पसल सञ्चालक, पार्लर सञ्चालक, मासु पसल व्यवसायी यसका मुख्य वचतकर्ता हुन् । वचतकर्ताहरुले नै व्यवसायलाई निरन्तरता दिन आवश्यक कच्चा पदार्थ खरिदकालागि बचत गरेको रकम ऋण लिदै आएका छन् । यसले साना व्यवसायीहरुमा अनिवार्य वचत गर्ने बानी वसेको छ । अनि पैसा चाहिएको वेलामा संस्था छ भन्ने भर पनि छ । महिलालाई आत्मनिर्भर बनाउन शिक्षा र सिप दुवै चाहिन्छ भन्ने फुलकुमारीको धारणा छ । त्यसैले केन्द्रले मनमैजु महिला सामुदायीक सीप विकास केन्द्र समेत संचालनमा ल्याएको छ । नारी चेतना महिला विद्यालयमा अध्ययन गर्न आएका विद्यार्थीहरुलाई शिक्षासँगै सीप पनि सिकाइन्छ । सीप विकास केन्द्रले विद्यार्थीहरुलाई सिलाईकटाईको तालिम दिन्छ । अचार बनाउने, हस्तकलाका सामग्री बनाउने तरिका पनि सिकाईन्छ । यसवाहेक बोल्ने तथा नेतृत्व गर्ने क्षमताको विकासमा केन्द्रले काम गर्दै आएको छ ।
सीप विकास केन्द्रका यस्ता कार्यक्रमले महिलाहरुलाई आर्थिक रुपमा सवल बनाउँदै लगेको छ । शिक्षाको अभावमा सिप मात्रै हुँदा महिलाहरुलाई व्यापार व्यवसाय सञ्चालनमा असहज हुन्थ्यो । तर, शिक्षा, सीप, बचत र लगानी सवै भएपछि भने उनीहरुमा आत्मविश्वास पलाएको फुलकुमारीको अुनभव छ । केही महिलाहरुले यहाँ सिकेका सीपलाई आफ्नै उद्योगमा प्रयोग गरिरहेका छन् । यसैको उदाहरण हुन् लक्ष्मी गैरे । मनमैजु महिला सामुदायीक सीप विकास केन्द्रमा आयोजना हुने विभिन्न तालिमहरुमा लक्ष्मीले सहभागिता जनाएकी छिन् । यसबाहेक केन्द्रले प्रदान गर्ने क्षमता तथा नेतृत्व विकासका तालिमहरुमा पनि उनको सहभागिता रहने गथ्र्याे । उनले तालिममा दैनिक जीवनमा आवश्यक घरेलु सामानहरु कसरी उत्पादन गर्ने, ति सामग्रीहरुको बजारीकरण कसरी गर्ने, लगायत बैंकिङ्क कारोवारसँग सम्बधित जानकारीहरु लिएकी थिइन् । लक्ष्मीले सुनौलो बिहानी महिला समूह स्थापना गरेकी लक्ष्मीले सुनौलो बिहानी मसला उद्योग पनि सञ्चालन गरेकी छन् । गतवर्ष स्थापना भएको मसला उद्योग मार्फत दैनिक भान्सामा आवश्यक पर्ने मसलाहरु उत्पादन तथा विक्रि वितरण पनि गर्दै आएकी छन् ।
त्यत्तिमात्रै होइन, स्थानीय तहको निर्वाचनबाट तार्केश्वर नगरपालिका वडा नं. १० को महिला सदस्यमा जितेकी लक्ष्मीको आत्मविश्वास पनि दिनप्रतिदिन बढ्दै गएको छ । अहिले समाजले हेर्ने दृष्टिकोणमा निकै फरक आएको लक्ष्मीको अनुभव छ । आफ्ना प्रशिक्षार्थीहरुको सफलताले फुलकुमारीलाई पनि हौसला मिलेको छ । काम गर्ने उत्साह बढ्दै गएको छ । अहिले फुलकुमारीले आफैले मनमैजु कृषि तथा जडिबुटी तेल प्रशोधन उद्योग पनि खोलेकी छिन् । उक्त उद्योगमा १२ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । महिलाहरुलाई सक्षम बनाउन लागिपरिरहेकी फुलकुमारीलाई अझै महिलाकै क्षेत्रमा काम गर्न मन छ । यसकालागि उनले नयाँ योजना तथा कार्यक्रमहरुको खाका समेत तयार पारिसकेकी छिन् । पुराना कार्यक्रम तथा गतिविधिलाई निरन्तरता दिदै नयाँ कामलाई अघि वढाउने उनको सोच छ । ‘एउटा महिला शिक्षित र रोजगार भए एउटा घरको कुशल व्यवस्थापकसमेत बन्न सक्छन् ।’, फलकुमारी भन्छिन्, ‘अक्षर नै नचिनेका महिलाले बुढेसकालमा पढेर के गर्छन् र भन्नेहरुलाई उदाहरणीय काम गरेर देखाउने सपना छ ।’