जडिबुटीको संकलन र निकासी बर्सेनि घट्दो

कृष्ण अधिकारी/बाँके । मध्य पश्चिमका पहाडी तथा हिमाली जिल्लाहरुमा जडिबुटीको संकलन र भारततर्फ हुने निकासी बसेृनि घट्दै गएको छ । आम्दानीको मुख्य स्रोत जडिबुटीको संकलन र निकासी घट्दा त्यसमा प्रत्यक्ष रुपमा संलग्न हजारौंको आम्दानी प्रभावित भएको छ । जडिबुटी खेती सम्बन्धी प्रस्ट नीति र कार्यक्रम नहुँदा किसानले आफ्नो खेतबारीमा जडिबुटी खेती गर्न सकेका छैनन् । जडिबुटीको संकलन व्यवस्थित रुपमा नगरिँदा जडिबुटी मासिने र उत्पादन घट्ने क्रम देखिएको छ ।
वन जंगलमा जडिबुटी मासिने क्रम बढेको र किसानले जडिबुटी खेती गर्ने क्रम अझै सुरु नभएकाले जडिबुटी संकलन र विदेशमा निकासी घट्दै गएको हो । जडिबुटी संकलन र निकासी सम्बन्धी वर्षौं पुराना अव्यावहारिक नीति परिमार्जन हुन नसक्दा जडिबुटी व्यवसाय खस्किँदै गएको नेपाल जडिबुटी व्यवसायी संघ बाँकेका पूर्व अध्यक्ष राजेश जैनले बताउँछन् । जडिबुटीको उत्पादन वृद्धिका लागि जडिबुटी खेतीमा किसानलाई प्रोत्साहित गर्ने, अध्ययन अनुसन्धान गर्ने र जडिबुटी प्रशोधन केन्द्र खोल्ने जस्ता काम अझै प्रभावकारी रुपमा हुन सकेको छैन ।
जडिबुटीको संकलन अनुमति र निकासीमा देखिएका समस्या हटाउनुपर्ने आवाज वर्षौंदेखि उठिरहे पनि समस्या समाधानतर्फ प्रगति हुन सकेको छैन । जडिबुटी खेती गर्ने किसानलाई तालिम, सहुलियत दरमा ऋण उपलब्ध गराउने, जडिबुटी उद्योग स्थापनाका लागि अनुदान दिने जस्ता कार्यक्रम सञ्चालन गर्नुपर्ने व्यवसायीहरु बताउँछन् । जडीबुटीहरु प्रशोधन गरेपछि जडीबुटीहरु व्यवसायीले आफ्नो उत्पादनलाई स्वतन्त्र रुपमा बिक्री वा निकासी गर्न नपाउँदा समस्या भएको जडिबुटी व्यवसायी संघका अध्यक्ष याकुब अन्सारीले बताए ।
‘प्रशोधित उत्पादन स्वतन्त्र रुपमा बिक्री वितरण गर्न नपाउने कानुनी व्यवस्थाले व्यवसायीहरु मारमा परेका छन्’, उनले भने । अर्कोतिर, जडिबुटी भण्डारनका लागि शीत भण्डार नहुँदा जडिबुटी व्यवसायीहरुले बर्सेनि लाखौंको क्षति बेहोर्दै आएका छन् । नेपालबाट निकासी हुने जडिबुटीहरुको नाम भारतीय प्लान्ट क्वारेन्टाइनको सूचीमा समावेश नहुँदा निकासीमा अनेकौं समस्या छन् । जडिबुटीको निकासीलाई सहज बनाउनेतर्फ सरकारी निकायहरुबाट पहल नहुँदा जडिबुटीको कारोबार फस्टाउन नसकेको व्यवसायीहरुको अनुभव छ । नेपालगन्ज नाका हुँदै वार्षिक रुपमा करिब १ अर्ब रुपैयाँ बराबरको जडिबुटी भारत जाने गरे पनि निकासी परिमाण बर्से्नि घट्दै गएको छ ।