अघिल्लो खेलले अन्तिम मौकामा सिकाएको पाठ

नेपालले बाँकी तीन खेलमा जितेर मात्रै पुग्दैन, हङकङ र केन्याले सबै खेल हार्नुपर्छ


काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा हङकङ विरुद्ध शुक्रबार पहिलो खेलमा पराजित भएसँगै नेपालको शीर्ष चारमा रहदै अर्को वर्ष हुने विश्वकप छनोट खेल्न सपना लगभग सकिएको छ । तर, अन्य टोलीको नतिजामा भर पर्नुपर्ने झिनो आशा भने बाँकी छ । त्यसका लागि अंकतालिकामा ८ अंकसहित छैटौँ स्थानमा रहेको नेपालले बाँकी तीन खेल जित्नैपर्ने हुन्छ । नेपालले हङकङसँग सोमबार एउटा र संयुक्त अरब इमिरेट्स (यूएई) सँगका दुई खेलको नतिजा आफ्नो पक्षमा पार्नुपर्नेछ । १३ अंकका साथ हङकङ चौथो र १२ अंकका साथ केन्या पाँचौ स्थानमा रहेकाले नेपाललाई लगातार तीन जितले मात्रै पुग्दैन् ।
हङकङले नेपालसँगको एकसहित पपुवा न्युगिनीसँगका दुई खेल र केन्याले स्कटल्यान्डविरुद्ध खेल्न बाँकी दुई खेलमा पनि पराजय व्यहारेमा नेपालको शीर्ष चारमा रहने सम्भावना रहन्छ । शुक्रबार हङकङ विरुद्धको खेलपछि प्रतिक्रिया दिँदै कप्तान पारस खड्काले सधैँ नतिजा आफ्नो पक्षमा नहुने र आफूहरुले माथिल्लो चरणमा उक्लने हिम्मत पनि नहारेको बताएका थिए। च्याम्पियनसिपबाट नभए डिभिजन ‘टु’ बाट उक्लदै विश्वकप छनोट खेल्ने उनले आशा व्यक्त गरे । च्याम्पियनसिपको पुछारमा रहेका चार टोली फेब्रअरीमा हुने डिभिजन ‘टु’ खेल्नेछन्। ६ टोली रहने प्रतियोगिताको शीर्ष दुई टोलीले विश्वकप छनोट खेल्न पाउँनेछन् । विश्वकप छनोट आगामी मार्चमा आयोजना गर्ने अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले निर्णय गरिसकेको छ ।
शुक्रबारको खेलमा नेपालले घरेलु टोलीलाई निर्धा्रित ५० ओभरमा एक सय ९४ रनमा अलआउट पारे पनि जवाफी ब्याटिङमा ३४.५ ओभरमा १११ रनमै अलआउट हुनपुग्यो। प्रशिक्षक जगत टमटा र कप्तान खड्काले ब्याट्सम्यानहरुले जिम्मेवारीपुर्वक नखेलेकै कारण पराजित हुनुपरेको बताएका थिए । यस खेलबाट पाठ सिक्दै खेलाडीहरुले अर्को खेलमा राम्रो प्रदर्शन गर्ने प्रशिक्षक टमटाको विश्वास छ । ‘बलरहरुले कसिलो बलिङ गर्दै २ सयको रनको आँकडा पनि पार गर्न दिएका थिएनन् तर ब्याट्सम्यानहरुले निराश पारे,’ प्रशिक्षक टमटाले दोहोर्याए । खेलको अघिल्लो दिन महत्वपुर्ण ब्याट्सम्यान शरद भेषावकरलाई ज्वरो आएका कारण खेल्न नसक्ने भएपछि नेपाली टोलीलाई मनोवैज्ञानिक असर पुगेको थियो ।
उनको स्थानमा नरेश बुढा ऐरलाई हङकङ झिकाइए पनि निर्धारित समयमा नपुगेका कारण उनलाई खेलाउन सकिएन्। फलस्वरुप नेपालले एक स्पीनर थप्दै मैदानमा उत्रेको थियो । उक्त खेलमा एक ब्याट्सम्यान कम भएको कप्तान खड्का नकार्दैनन् । तर, राष्ट्रिय टोलीमा परिसकेका खेलाडीले आफूले पाएको जिम्मेवारी निभानुपर्नेमा उनको जोड छ । दोस्रो खेलमा भने नेपालले नरेश बुढा ऐरलाई मैदान उतार्न सक्ने प्रशिक्षक टमटाको भनाइ छ । पहिलो खेलमा ओपनरहरु फ्लप रहेकाले नरेशलाई ओपनरका रुपमा मैदान उतार्न सक्ने सम्भावना छ । नरेशले नेपाली टोलीबाट प्रायः ओपनिङ गरेकाले उनलाई ओपनरका रुपमा पठाउन सक्छ। ज्ञानेन्द्र मल्लसँगै नरेश ओपनिङमा आए सागर पुनलाई सम्भवतः तेस्रो नम्बरमा पठाइने छ ।
यसअघि केन्या विरुद्धको खेलमा पनि सागरलाई तेस्रो नम्बरमा खेलाइएको थियो । तर, सागरले नै ज्ञानेन्द्रसँग ओपनिङ गरे नरेशले तेस्रो तथा पाँचौ स्थानमा खेल्न सक्ने प्रशिक्षक टमटाले संकेत दिएका छन् । एउटा ब्याट्सम्यान थप्दा नेपालले एउटा बलर निकाल्नुपर्ने हुन्छ। पहिलो खेलमा स्पिनरहरूले ६ विकेट लिए। जसमा सन्दीप लामिछानेले ३, वसन्त रेग्मीले २ र सुशन भारीको १ विकेट थियो भने पेसबलर द्वय करण केसी र सोमपाल कामीले पनि राम्रो प्रभाव पारेका थिए । यसअवस्थामा बलरमध्ये कसलाई नेपालले बेञ्चमा बसाल्छ अहिलै भन्न सकिने अवस्था छैन् । ब्याटिङसँगै अघिल्लो खेलमा नेपालाई खट्किएको अर्को महत्वपुर्ण कुरा साझेदारी हो । ब्याट्सम्यानबीच हुने साझेदारीले विपक्षी टोलीलाई दबावमा ल्याउन सघाउ पुर्याउँछ । तर, नेपालका कुनै पनि ब्याट्सम्यानहरु बीचको साझेदारी धेरै समय टिक्न सकेन् ।
‘४०–५० रनसम्मका दुई–तीन वटा साझेदारीले पनि सहजै लक्ष्य भेटाउन सकिक्थ्यो,’ प्रशिक्षक टमटा भन्छन्, ‘तर नेपाली ब्याट्सम्यानहरु त्यसमा पनि चुके ।’ शनिबार नेपाली टोलीका ब्याट्सम्यानहरुले नेटमा केही समय विताएका थिए । आइतबार समुन्द्री आँधीको खतरा रहेकाले खेल दोस्रो दिनलाई सार्दै टोलीलाई सम्भावित अवस्थाबाट सर्तक बनाइएको छ । टोलीले को खेलाडीलाई मैदानमा उतार्छ त्यस दिनको विकेट हेरर मात्रै रणनीति बनाइने प्रशिक्षक टमटाको भनाइ छ । यस्तोमा शीर्ष चारमा रहँदै एकदिवसीय टोलीको मान्यता प्राप्त गर्न तथा विश्वकप सम्भावनाको आशा जीवितै राख्न हङकङसँगको खेल महत्वपुर्ण भएकाले नेपाली खेलाडीहरुले जिम्मेवारीपुर्वक खेल्नुपर्ने देखिएको छ ।