फस्टाउँदै गाभर : जहाँ होमस्टे, त्यहाँ पर्यटक


काशीराम शर्मा
महासचिव
जलवायु संरक्षण अभियान नेपाल

नेपालमा आउने विदेशी पर्यटकहरू सहरका ठूला र महंगा होटेलभन्दा ग्रामीण क्षेत्रमा होमस्टेमा बस्न रूचाउँछन् । ग्रामीण पर्यटनको अवधारणा अन्तर्गत होमस्टेलाई लिइन्छ । सहरदेखि गाउँसम्म होमस्टे अवधारणालाई सरकारले विस्तार गरिरहेकाले पनि नेपालमा भित्रिने विदेशी पर्यटकहरू गाउँले परिवेश र न्यानो आतिथ्ताले मोहित बन्ने गरेका छन् । स्थानीयको पहलमा बाँकेको गाभर भ्यालीमा चार वर्ष अगाडि सुरु गरिएको होमस्टेमा अहिले पर्यटकहरू आकर्षित बनिरहेका छन् । गाभर भ्यालीमा पुग्ने पर्यटकहरु गाउँलेको न्यानो आतिथ्यताले बसाइ निकै रमाइलो बनेको महसुस गर्छन् । सरकारले होमस्टे कार्यविधि २०६७ सञ्चालनमा ल्याएपछि होमस्टे खोल्ने क्रम बढेको हो । हाल सञ्चालित होमस्टे मुलुकका धेरै जिल्लामा पर्यटकलाई लोभ्याउन सफल भए पनि अझै व्यवस्थित गर्न भने सकिएको छैन । आधुनिक घरहरूका साथै नयाँनयाँ पर्यटकीय गन्तव्य स्थलहरूमा समेत होमस्टे विस्तार गर्ने कामलाई अहिले पनि उत्तिकै जोड दिइएको छ ।
ग्रामीण क्षेत्रको भ्रमण एवम् पदयात्रामा निस्कने पर्यटकहरूलाई स्थानीयस्तरमै सञ्चालित होमस्टेबाट सबै खालका सेवा दिन सकिने गरी सरकारले काम अगाडि बढाएको छ । ग्रामीण परिवेशको खानपान र न्यानो आतिथ्यता अनि लामो पदयात्रा गर्न पाउदा विदेशी पर्यटकहरू निकै रोमाञ्चित बन्ने गरेका छन् । विदेशी पर्यटकहरुलाई नेपालमा सहरका ठूला होटल र लजभन्दा गाउँको वातावरण र मौलिक परिकारसँगै न्यानो सत्कार प्यारो लाग्ने गरेको छ । त्यसकारण पनि होमस्टेप्रति उनीहरुको आकर्षण बढ्दो छ । हामेस्टेले विदेशी पर्यटक तानिरहे पनि कतिपय पर्यटन व्यवसायीहरू ग्रामीण पर्यटनको नाममा सरकारले होमस्टे अवधारणा ल्याएर ग्रामीण पर्यटनलाई ओझेलमा पार्न खोजेको गुनासो गरिरहेका छन् । सहरकेन्द्रित होमस्टेलाई ग्रामीण क्षेत्रसम्म पु¥याउनु पर्ने अहिलेको आवश्यकता हो । ग्रामीण भेगमा उत्पादित स्वस्थ उत्पादन र शान्त वातावरणको कारण आजकल विदेशी मात्रै नभएर स्वदेशी पर्यटकहरु पनि होमस्टेप्रति आकर्षित भइरहेका छन् । दिगो पर्यटन विकास कार्यक्रम अन्तर्गत पर्यटन वोर्ड र विभागले होमस्टेलाई प्रवद्र्धन गर्ने काम गरिहरेका छन् । सरकारले होमस्टे प्रवद्र्धन गर्नका लागि होमस्टे कार्यविधि २०६७ कार्यान्वयनमा आएसँगै नेपालमा होमस्टेको संख्या पनि बढ्दै गएको तथ्यांक छ ।


पर्यटन विभागको कथ्यांक अनुसार हरेक वर्ष एक सय होमस्टे दर्ता हुने गरेका छन् । ग्रामीण पर्यटनलाई जोड दिएर रोजगारी दिलाउने र स्थानीय वस्तुको प्रचारप्रसार गर्ने उद्देश्यले होमस्टेलाई सरकारले प्राथमिकतामा राखेको छ । होमस्टेलाई व्यवस्थित गर्न बिजुली बत्तीका साथै त्यहाँ पुग्नका लागि बाटो लगायतका पूर्वाधार निर्माणको काम पनि सरकारले सहयोग गरिरहेको छ । सरकारले सामुदायिक होमस्टलाई सहयोग गरिरहेको छ । व्यक्तिगत पहलमा पनि होमस्टे खोल्ने काम भइरहेको छ । होमस्टे खोल्न स्थानीय स्वास्थ्य केन्द्रबाट पानी तथा खानेकुराहरु स्वच्छ छन् भन्ने प्रमाणित गरेपछि मात्रै पर्यटन विभागले सञ्चालनको अनुमति दिने गर्छ । एउटा घरमा कम्तीमा एकदेखि चार वटासम्म कोठा हुनुपर्ने मापदण्ड छ । स्वच्छ खाना, पानी र शौचालयको उचित व्यवस्था, तथा खाना बनाउने उचित तरिकाबारे खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले निगरानी भने गरिरहेको हुन्छ । स्वच्छ भनेर होमस्टेमा जाने पर्यटकहरु गुणस्तर कम भएका र सामान्य सरसफाइमा बेवास्ता गर्दा रोग समेत लाग्ने सम्भावना हुने हुँदा ती समस्या नहोस् र पर्यटकको बसाइ आनन्ददायक होस् भनेर हरेक वर्ष होमस्टे सञ्चालकहरुलाई सचेतनामूलक तामिल दिनुपर्ने अहिलेको आवश्यकता रहेको छ । बाँकेको गाभर भ्याली, नयाँगाउँ, बर्दियाको डल्ला, स्याङजाको सिरुवारी, लमजुङको घलेगाउँ, चितवनको मेघौली, नवलपरासी, कैलाली तथा पछिल्लो समय ललितपुरका विभिन्न ठाउँमा पनि होमस्टे फस्टाइरहेको छ । स्वदेशी र विदेशी पर्यटकहरुलाई सहरभन्दा गाउँको बातावरण र खानपान मन पराउदै गएका कारण होमस्टेमार्फत गाउँको विकास गर्न सकिने प्रचुर सम्भावना रहेकोले पनि सरकारले यसको प्रवद्र्धनमा जोड दिइरहेको छ ।


नेपालमा ग्रामीण पर्यटन प्रवद्र्धन र आर्थिक रुपान्तरण गर्न होमस्टे सफल भएको छ । सरकारको नीति नै ग्रामीण क्षेत्रको प्रवद्र्धन र पर्यटनमा पहुँच पु¥याउने भएकोले सन् २०११ को पर्यटन वर्षपछि आन्तरिक जागरण बढ्न थालेको छ । ग्रामीण क्षेत्रमा पर्यटकीय पहुँच बढेको र गाउँको आर्थिक रुपान्तरणमा होमस्टे सबैभन्दा प्रभावकारी माध्यम बन्नेको छ । यसका साथै सरकारले मनाएको घुमफिर वर्ष २०७३ ले समेत ग्रामीण पर्यटनको पहुँच बढाएको छ । पछिल्लो समय आन्तरिक पर्यटककै कारण होमस्टे भरिभराउ हुन थालेका छन् । ग्रामीण क्षेत्रमा जाने पर्यटक बढनुको प्रमुख कारण नै होमस्टे हुन् । यसले मुलुकमा गरिवी निवारण र आर्थिक रुपान्तरण गर्न होमस्टे सफल भएको छ । सरकारले होमस्टेको प्रवद्र्धनका लागि चेतनास्तर बढाउने, तामिल दिने र विभिन्न तहमा स्थानीयस्तरको पूर्वाधार निर्माणमा समेत सहयोग पु¥यारहेको छ । यसका कारण होमस्टेप्रति स्थानीयको उत्साह बढ्दै गएको छ । होमस्टेले सरकारको आर्थिक सामाजिक परिवर्तनको लक्ष्यलाई पनि छोटो समयमा नै पूरा गर्न सहयोग गरेको छ । हिजो गाउँमा कुनै आर्थिक स्रोत नभएको अवस्थामा सरकारले ल्याएको नयाँ पर्यटकीय कार्यक्रमलाई सुरुमा विश्वास नगरिए पनि होमस्टेको प्रभावकारिताका कारण यसको महत्व देशैभर झल्किएको छ । गाउँमै उत्पादन भएका खाद्यान्न, सागपात, दहीदूध खाने, गाउँका कला संस्कृति हेर्ने परम्परा आथिक समृद्धितर्फको बाटो हुन सकेको छ । अहिले नाम चलेका धेरैवटा होमस्टेमा बिदाका दिन आन्तरिक पर्यटकको चाप बढ्ने गरको छ । बाँकेको गाभरभ्याली, बर्दियाको डल्ला, लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, नवलपरासीको अमलटारी लगायतका स्थानमा विभिन्न जनजातिले चलाएका होमस्टेमा अग्रीम बुकिङ गरेर जानुपर्ने अवस्था छ । धैरैवटा होमस्टेमा अग्रीम बुकिङ नगरे पाहुना बस्न नपाउने गरी ‘प्याक’ हुन थालेको छ । होमस्टेका कारण ग्रामीण क्षेत्रमा कुखुरा, तरकारी, दही दूध लगायतको व्यापार बढेको छ ।


हाल करिब ४५ जिल्लामा पुगिसकेको होमस्टेको संख्या साढे दुई सयभन्दा बढी छ । यसमध्ये ६० प्रतिशत सामुदायिक र ४० प्रतिशत निजी होमस्टे छन् । सरकारको होमस्टे नीति र ग्रामीण पर्यटनको प्रवद्र्धनको आधार मानिएको यो अभियानलाई सबै नगर र गाउँपालिकामा पु¥याउने लक्ष्य रहेको छ । गाउँमा होमस्टे स्थापनापछि गाउँलेको बोलीचाली, रहनसहनदेखि आर्थिक स्रोतमा नै उल्लेख्य परिवर्तन आएको छ । सुरुमा होमस्टले चल्छ कि चल्दैन भन्ने चिन्ता भए पनि अहिले स्वदेशी तथा विदेशीको रोजाइको पहिलो गन्तव्य नै होमस्टे बन्न पुगेको छ । गाउँको आर्थिक विकासमा निकै प्रभावकारी हुनका साथै सम्पूर्ण गाउँको पहिचान बदल्न होमस्टे सफल भएका छन् । होमस्टेका कारण ग्रामीण पर्यटन प्रवद्र्धन भएको छ । होमस्टे अपेक्षाभन्दा बढी लाभ लिन सफल भएका छन् । समुदायको दीगो आयआर्जनका रूपमा होमस्टे सफल बन्न थालेका छन् । गाउँमा हस्तकलाका सामग्री निर्माण गर्ने, युवालाई विभिन्न पर्यटकीय तालिम दिने, स्थानीय उत्पादनलाई प्राथमिकता दिने काम पनि होमस्टेहरुले गरेका छन् । ग्रामीणस्तरमा होमस्टे सञ्चालन हुनुले अतिरिक्त आम्दानीको स्रोत बन्न सकेको छ । गाउँमा होमस्टे सञ्चालन हुँदा होमस्टे भएका घरले मात्रै नभएर सम्पूर्ण गाउँलेलाई नै लाभ पुगेको छ । स्थानीय हाते उत्पादनका सामग्रीको बजार पनि बढेको छ ।


सबैभन्दा ठूलो सचेतना गाउँमा पाहुना आउँछन् भनेपछि गाउँनै सफासुग्घर हुने गरेका छन् । होमस्टेमा स्वागतको व्यवस्था गरेर स्थानीय संस्कृति देखाउने व्यवस्था अझै हुन सकिरहेको छैन । यसलाई पनि प्राथमिकतामा राखेर अघि बढ्ने हो भने अझ पर्यटनहरुलाई आकर्षित गर्न सकिन्छ । वास्तवमा यो एउटा सामूहिक अभियान हो । यसले पर्यटनबाट पनि राष्ट्रिय अर्थतन्त्रमा योगदान दिन सकिन्छ भन्ने सावित गरिसकेको छ । हरेका क्षेत्रका व्यक्तिलाई प्रयोग गरेर प्रत्येक नेपालीको घरमा पुग्ने वातावरण तयार गर्न सके पर्यटकको संख्यामा निकै वृद्धि हुने छ । अब राज्यले एक दिन नेपालका हरेक घर ‘होमस्टे’ बन्नेसक्ने गरी नीति तय गर्न जरुरी छ । तर यतिले मात्रै हाम्रो पर्यटन प्रवद्र्धन हुँदैन । यसका लागि अन्तर्राष्ट्रिय पर्यटक ल्याउनैपर्छ । सरकारले २०१८ लाई अन्तर्राष्ट्रय भ्रमण वर्ष घोषणा गरिसकेको छ । यसका साथै हाम्रो देशको कृषि अझै पनि निर्वाहमुखी छ । यसबाट अर्थतन्त्रले अझै खास फाइदा लिन सकिरहेको छैन । उत्पादनको लागत झन् बढिरहेको छ । यस्तो अवस्थामा ग्रामीण पर्यटनलाई जोड दिने हो भने अर्थ, विकास र सम्वृद्धि गाउँसम्म पुग्ने निश्चित छ । अर्गानिक पर्यटन, जिरो कार्बन पर्यटन र जीवित संस्कृतिको थलोका रूपमा ग्रामीण पर्यटनको विकास हुनु आजको आवश्यकता हो ।