नेपालमा वार्षिक ५० लाख खसीबोका खपत, दशैँमा मासुको खपत ६ गुणा वृद्धि

बाँके । सरकारी तथ्याङ्क हेर्ने हो भने नेपालमा वार्षिक रूपमा ५० लाख खसीबोका खपत हुने गरेको छ । उत्पादनको हिसाबमा नेपालमा ४५ लाख खसीबोका उत्पादन भइरहेका छन् भने अन्य नपुग भारतको भर पर्नुपरेको छ । नेपालमा ५० प्रतिशत गाउँको नागरिकले खशीको मासु सेवन गर्दै आइरहेका छन् । यता राजधानीको मात्रै कुरा गर्ने हो भने वार्षिक ४ देखि ५ लाख खसीबोका भित्रिने गरेका छन् । ५ लाखमा पनि २० प्रतिशत भारतबाट ल्याउने गरिएको छ । वार्षिक ६० हजार राँगा पनि भारतबाट नै ल्याइन्छ । गाउँमा नागरिकले आफ्नै स्थानीय उत्पादन सेवन गर्ने भएका कारण सहरी क्षेत्रमा बाहिरको भर परेको देखिन्छ ।
नेपाल सरकार, पशु विकास मन्त्रालय पशुपन्छी बजार प्रवद्र्धन निर्देशनालयका कार्यकारी निर्देशक बलराम थापाका अनुसार मासु खपतको संख्या अघिल्ला वर्षको तुलनामा अहिले बढेको बताउँछन् । नेपालमा विदेशिनेको संख्या बढेसँग मासु खपतमा पनि वृद्धि हुन थालेको उनको भनाइ छ । विदेशबाट दुःख गरेर भए पनि मासिक रूपमा पैसा पठाउने हुँदा अहिले मासु प्रयोगमा वृद्धि भएको पाइएको हो । वार्षिक रूपमा चाइनाबाट ८ देखि १० हजार च्याङग्रा, भारतबाट ४ देखि ५ लाख खसीबोका भित्रिने गरेको छ । उपत्यकामा २ देखि ३ लाख खपत हुने निर्देशक बलराम थापाले बताए । दशैँका लागि भारतबाट उपत्यकामा १ देखि डेढ लाखसम्म खसीबोका खपत हँुदै आइरहेको छ ।

दशैँमा ६ गुणा बढी खपत हुन्छ मासु

नेपालमा अन्य समयको तुलनामा दशैँमा ६ गुणा मासु खपत हुने गरेको पशुपक्षी बजार प्रवद्र्धन निर्देशनालयका कार्यकारी निर्देशक बलराम थापाले बताए । अन्य समयमा काठमाडाँमा दैनिक ४ हजार राँगा काट्ने गरिन्छ भने दशैँमा २० हजार काट्नुपर्ने हुन्छ । अन्य समय १ लाख ब्रोइलर प्रतिदिन काट्ने गरिन्छ भने दशँैको समयमा ७ लाख काट्ने गरिन्छ । नेपालमा ६० प्रतिशतले राँगाको मासु खपत हुने गरको छ । २० प्रतिशत खशी, ८ प्रतिशत बङ्गुर, ८ प्रतिशत कुखुराको मासु खपत हुँदै आइरहेको छ ।

नेपाली खसीबोका काट्न मान्दैनन् व्यापारी

नेपालका व्यापारीहरूले आफ्नो स्थानीय रूपमा उत्पादन गरिएको खसीबोका काट्न मान्दैनन् । नेपाली खसीबोकाको कस्ट एन्ड सप्लाई नभएका कारण काट्न नमान्ने गरेको सरकारी निकायको भनाइ रहेको छ । भारतको विभिन्न ठाउँबाट नेपाली व्यापारीले खसीबोका ल्याउने गरेका छन् । भारतीय व्यपारीले वर्षभरी निरन्तर रूपमा सप्लाइ गरिरहने, खसीबोकाको मासु धेरै हुने हुँदा नेपाली व्यापारी भारतीय खसीबोका नै खोज्छन् । नेपालको खसीबोकाको पेट ठूलो हुने र कम मासु हुने हँुदा नेपाली खसीबोका नेपालकै व्यापारीले काट्न नखोज्ने गरेको थापाको भनाइ छ । भारतीय खशसीमा आन्द्रा कम मासु बढी हुने नेपाली खसीमा आन्द्रा धेरै मासु कम हुने भएकाले व्यापारीलाई घाटा हुने हँुदा नेपाली खसीमा व्यापारीको चासो हुन्न ।

स्वदेशी खसीबोकालाई ढुवानीमा अनुदान

स्थानीय उत्पादनलाई प्राथमिकता दिने हिसाबले सरकारले स्वदेशी खसीबोका ढुवानीका लागि अनुदानको व्यवस्था गरेको छ । बर्दिया, दाङमा उत्पादन भएको खसीले काठमाडौँको भाउ पाउने हो भने ढुवानीमा अुनदान दिने व्यवस्था सरकारले गरेको छ । विशेषतः दैलेख, सल्यान, प्युठान, सुर्खेतका खसीकोबा काठमाडौँ ल्याउने योजनाको साथ अनुदानको सुरुवात गरिएको हो ।

आ.व.२०७५/७६ सम्म मासुमा आत्मनिर्भर

आ.व.२०७५/७६ सम्म नेपाल मासुमा आत्मनिर्भर बन्ने योजना रहेको छ । अहिले वार्षिक रूपमा प्रतिव्यक्ति नेपालीले १२ किलो मासु सेवन गर्दै आइरहेका छन् भने आत्मनिर्भर बनेपछि १४ किलो पुग्ने छ । नेपाल मासुमा आत्मनिर्भर बन्नको अहिले तथ्याङ्कले पुग्दैन । सरकारलाई मासुको उत्पादन बढाउनुपर्ने चुनौती रहेको छ । आत्मनिर्भर कार्यक्रम लक्षित गर्दै बङ्ङगुर तथा कुखुरा प्रवद्र्धन कार्यक्रम, हिमाली, पहाडी भेगका नागरिकलाई कुखुरा र बङ्गुरका पाठापाठी वितरण गर्ने, बङ्गुर पार्क स्थापना, सहकारी बङ्गुर खेतीलगायतको कार्यक्रम रहेका छन् । नेपाल अहिले न्यूनतम आवश्यकताको नजिक रहेको छ भने अधिकतम मासु खपतमा आत्मनिर्भर बन्नको लागि अझै धेरै समय लाग्ने छ । सार्क राष्ट्रमा नेपाल धेरै मासु खपत हुने देशमा गणना हुने गरेको छ ।