माफियामुखी ऐन आउन लागेको डा. केसीले थाले १२ औं आमरण अनसन

काठमाडौं । संसदमा विचाराधीन चिकित्सा शिक्षा विधेयक तोडमोड गरेर ऐन जारी गर्ने अन्तिम प्रयास भइरहेको भन्दै डा गोविन्द केसीले १२ औं अनसन सुरू गरेका छन् । जनतामुखी र विद्यार्थीमुखी नभई माफियामुखी ऐन आउन लागेको पुष्टि भएकाले आफूले अनशन थालेको डा केसीले सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।
चिकित्सा शिक्षा विधेयकलाई लिएर २० गतेबाट अनसन बस्ने चेतावनी दिएका थिए । तर, संसदमा विचाराधीन विधेयक तोडमोड गरेर पारित गर्ने अन्तिम तयारी भइरहेको भन्दै डा केसीले सोमबार नै अनसन थालेका हुन् । उनले भनेका छन्, ‘यसो गर्दा मेडिकल शिक्षामा माफियातन्त्र सदाका लागि संस्थागत हुने मात्र नभई हाम्रो अभियानले हालसम्म गरेको उपलब्धिहरु उल्टिने कुरा प्रष्ट छ ।’ डा केसीले माथेमा प्रतिवेदन र आफ्ना सुझाव अनुसार चिकित्सा शिक्षा ऐन पास गर्नु पर्नेसहितका चारबुँदे माग राखेका छन् ।