डोटीका सडकमा जोखिमपूर्ण यात्रा : गाडी धकेल्छन् यात्रु

रामहरी ओझा/डोटी । गाडी भन्ने बित्तिकै यात्रुहरुलाई ओसार पसार गर्ने साधन भनेर बुझिन्छ तर डोटीका ग्रामीण क्षेत्रमा यसको परिभाषा फेरिएको छ । यात्राको करीब करीब आधा समय गाडी धकल्दैमा बिताउँछन् यात्रुहरु । अर्थात् यात्रुलाई गाडीले होइन की यात्रुले गाडीलाई गन्तव्यसम्म र्पुयाउँछन् धकेलेरै भए पनि । बुधबारदेखि आएको अबिरल वर्षाका कारण डोटीका ग्रामिण क्षेत्रका कच्ची सडकको यात्रा जोखिमपूर्ण बन्दै गएको छ । वर्षातका कारण कच्ची सडकहरु ठाउँठाउँमा भत्किनुका साथै हिलाम्य भएपछि यात्रुहरुले गाडी धकल्दै लैजानुपर्ने बाध्यता छ । ठाउँठाउँमा पहिरो गएका हिलाम्य सडकहरु दुर्घटना पर्खिरहेका भएपनि ति सडकहरुमा न यातायातका साधनहरु चल्न छाडेका छन् न सडक मर्मततर्फ कुनै पक्षको ध्यान गएको छ ।
सडकको दुराबस्थाकै कारण गत २० गते राती डोटीको दिपायलबाट चवराचौतारा जाँदै गरेको से १ ज ४९१ नम्बरको जीप दुर्घटना हुँदा ९ जनाको मृत्यु र ७ जना घाइते भए । बोगटान गाउँपालिका–६ गगुडा धारमा उक्त जीप सडकबाट करीव पाँच सय मिटर तल खसेको थियो । हिलाम्य सडकमा जीप चिप्लेर दुर्घटना भएको थियो । जिल्लाका अन्य ग्रामिण सडकहरुको अवस्था हेर्दा यस्तै भयानक दुर्घटनाको जोखिममा रहेका देखिन्छन् । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिपायलबाट आदर्श गाउँपालिकाको मौवासम्मको सडकमा सबैभन्दा बढी सवारी साधन चल्ने गर्छन् । उक्त सडकमा चल्ने बोलेरो जीपहरु आफै कम गुड्छन् भने यात्रुहरुले धक्का लगाएर बढी गुडाउनुपर्ने अवस्था छ । जम्मा २२ किलोमिटरको दुरीमा प्रतियात्रु पाँच सय रुपैयाँ भाडा लिने गरेका छन् सवारी धनिहरुले । गाउँगाउँमा सडकको पहुँच र्पुयाउने होडबाजीका साथ निर्माण भएका सडकहरु न त प्राविधिक रुपमा मापदण्ड पूरा गरेका छन् न त स्तरीय नै । तर पनि ग्रामीण तथा कृषि सडकका नामले सडक बिस्तार गर्ने काम रोकएको छैन । मापदण्ड पूरा गर्दै स्तरीय सडक निर्माण गर्नुको सट्टा गाउँमा बाटो र्पुयाउने प्रतिस्पर्धा हुँदा जनता जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् ।
२०७१ साल यता डोटीका ग्रामिण कच्ची सडकमा भएका सवारी दुर्घटनाका क्रममा ५१ जनाले ज्यान गुमाइसकेका छन् । २०७१ साल असोज २० गते बुडर–जोरायल सडक खण्डको कफलकट्टे भन्ने ठाउँमा ना ३ ख ५७०७ नम्बरको यात्रुबाहक बस दुर्घटना हुँदा २९ जनाको एकै चिहान भएको थियो । कच्ची सडकमा भएको दुर्घटनामध्ये यो सबैभन्दा ठूलो दुर्घटना मानिन्छ । नेपालीहरुको महान चाड बिजया दशमीका लागि घर बाहिर रहेकाहरु आफ्नो गन्तव्यमा पुग्न जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । बिशेषगरी भारतमा काम गरेर फर्किएकाहरुले आउँदा सामान समेत ल्याउने भएका कारण भारी सहित पैदल हिँड्न र्गाहो मानेपछि जोखिम मोलेरै भए पनि गाडीको यात्रा गर्दछन् । ‘सामान छ बोकेर जान सकिँदैन,’ डोटी आदर्श गाउँपालिका–४ का तुला बिष्ट भन्छन्, ‘सामान बोक्ने मान्छे पनि पाउँदैन त्यसैले गाडीमै जानुपर्ने बाध्यता छ ।’ उनी भाडा निकै चर्को भएको गुनासो गर्छन् ।
बिष्टको जस्तै गुनासो छ डोटी बोगटान गाउँपालिका–१ का नरेश मगरको । उनी भन्छन्, ‘कि त सडक काट्नै नहुने, काट्ने नै हो भने अलि स्तरीय बनाउनु पर्ने । यस्तो सडकमा यात्रा गर्नु आफ्नो बाध्यता भएको मगर बताउँछन् । सडकको दुरावस्थाले आफूहरुले ज्यान जोखिममा राखेर हिँड्नु परेको बताउँछन् डोटी आदर्श गाउँपालिका–४ का करबिर बिष्ट । उनी भन्छन्, ‘हिँडेर जान पनि अल्छी लाग्छ, त्यसैले जसोजसो होला भनेर गाडीमै जान्छौं ।’ उनी गाडीमा बसेदेखि गन्तव्यमा नपुगेसम्म डरले मुटु काँप्ने गरेको सुनाउँछन् । जनप्रतिनिधिहरु र सरकारी कर्मचारीहरु पनि यस्तै जोखिमपूर्ण कच्ची बाटोमा हिँड्ने गरेको भएपनि सडक मर्मतमा उनीहरुको ध्यान नगएको बताउँछन् डोटी सायल गाउँपालिका–५ का तेज डुम्रेल । उनी भन्छन्, ‘आफै जोखिमपूर्ण यात्रा गरिरहेको पनि थाह छैन जनप्रतिनिधिहरुलाई ।’ डोटीका ग्रामिण कच्ची सडकहरुमा दिपायल–मौवा–डौड, दिपायल–चवाराचौतारा, सहजपुर–बिपीनगर बोगटान, बुडर–जोरायल, तल्कोट–धुर्कोट सडकहरुमा बढी यातायातका साधनहरु आउजाउ गर्ने गर्दछन् ।