वरिष्ठता मिच्दै प्रहरी महानिरीक्षक चीनतर्फ, जोशीलाई निमित्त

काठमाडौं । प्रहरीमा महानिरीक्षकको अनुपस्थितिमा वरिष्ठतामा दोस्रो र क्रमानुसारका अधिकारीलाई निमित्तको जिम्मेवारी दिने परम्परा तोडिएको छ । प्रहरी संगठनभित्र खराब परम्पराको सुरुवात गर्दै महानिरीक्षक प्रकाश अर्याल बढुवा वरीयता र वरिष्ठतामा छैटौं नम्बरमा रहेका अतिरिक्त महानिरीक्षक माधवप्रसाद जोशीलाई निमित्तको कार्यभार सुम्पिँदै चीनतर्फ लागेका छन् । महानिरीक्षक अर्याल चीनको बेइजिङमा असोज १० देखि १३ सम्म आयोजना हुने अन्तर्रा्ष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को ८६ औं महासभामा भाग लिन शनिबार त्यसतर्फ लागेका हुन् । उनीसँगै वरीयतामा दोस्रो रहेका बमबहादुर भण्डारी समेत सहभागी छन् ।
वरीयतामा तेस्रो रहेका जयबहादुर चन्द र चौथो रहेका देवेन्द्र सुवेदी उपत्यकामा कार्यरत रहे पनि अर्यालले जोशीलाई जिम्मेवारी सुम्पिएका हुन् । चौंथो र पाँचौं वरियतामा रहेका पशुपति उपाध्याय र केशरीराज घिमिरेसमेत उपत्यकाबाहिर कार्यरत छन् । प्रहरी संगठनभित्र वरीयताअनुसार निमित्त दिने विषयमा पूर्वप्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यायले अवकाश पाउने दिन अपराह्न प्रहरी नियमावली संशोधन गर्दै प्राविधिक अतिरिक्त महानिरीक्षक दिनेशचन्द्र पोखरेललाई अधिकार प्रत्यायोजन गरेका थिए । वरिष्ठतामा डिआइजी नवराज सिलवाललाई निमित्त दिनुपर्ने भएपछि अघिल्लो सरकारले नियमावली संशोधन गरेको थियो ।
प्रहरी प्रवक्ता डिआइजी मनोज न्यौपाने जोशीलाई निमित्त दिएको विषय प्रहरी नियमअनुसार नै भएको दाबी गर्छन् । उनले प्रहरीमा नजिकको कार्यालयमा कार्यरत अधिकारीलाई निमित्त दिने चलन रहेको बताए । उनले भने, ‘हामी क्षेत्र र जिल्लामा पनि नजिक रहेका प्रहरी अधिकारीलाई निमित्त दिने गर्दछौं, अहिले नियमअनुसार नै निमित्त दिइएको हो ।’ प्रहरी महानिरीक्षक अर्याललाई शनिबार विमानस्थलमा बिदाइ गर्न गएका अधिकारीले जोशीलाई निमित्तको जिम्मेवारी दिइएको विषयमा आपसमा असन्तुष्टि व्यक्त गरेका थिए । प्रहरी प्रधान कार्यालय उच्च स्रोतका अनुसार सरकार अर्याललाई हटाउने खेलमा लागेको हल्ला चलेपछि अर्याल केही समययता आफ्ना निकटस्थबाट समेत सशंकित हुन थालेका छन् ।
‘सरकारले अर्याललाई हटाएर जयबहादुर चन्दलाई महानिरीक्षक बनाउने चर्चा चुलिएकाले अर्यालले उनलाई निमित्त नदिएको हुन सक्छ,’ स्रोतले भन्यो । शनिबार सार्वजनिक बिदा परेकाले प्रहरीको आन्तरिक सर्कुलेसनमा निमित्त महानिरीक्षकको विषयमा केही जानकारी बाहिर आएको थिएन । यसअघि कुबेरसिंह राना र उपेन्द्रकान्त अर्यालले महानगरीय प्रहरीमा रहेका नवराज ढकाल र प्रहरी प्रधान कार्यालय प्रशासनमा रहेका राजेन्द्रसिंह भण्डारीलाई निमित्त दिने गरेका थिए । पछि अर्याल र भण्डारीबीच तिक्तता बढेपछि उनले तेस्रोमा रहेका सुरेन्द्रबहादुर शाहलाई निमित्त दिन थालेका थिए ।