बाढीपीडित खुला आकाशमा रात काट्न बाध्य

कृष्ण अधिकारी, बाँके । बाँकेको राप्ती नदी किनारका बाढी तथा डुबान प्रभावित करिब एक हजार परिवारहरु सामुदायिक वनमा टहरा बनाएर बस्न बाध्य भएका छन् । बाढी र डुबानका कारण घर भत्किएर बिचल्लीमा परेका कारण सामुदायिक वन क्षेत्रमा टहरा बनाएर बस्न बाध्य भएको बाढी पिडितहरुले बताएका छन् । बाँकेको फत्तेपुरमा मात्रै ६५० परिवारहरु सामुदायिक वनमा टहरा बनाएर बसेका छन् । सामुदायिक वनमा टहरा बनाए पनि अधिकांश बाढी प्रभावितहरुसँग टिन तथा त्रिपाल नहुँदा खुला आकाशमै रात काट्न विवश छन् । शिवशक्ति सामुदायिक वनमा टहरा बनाएर बस्दै आएकी चन्द्रकला थारुले खाद्यान्नको अभाव हुँदा भोकभोकै रात काट्नुपर्ने अवस्था आएको बताइन् ।
राप्ती नदीको कटान तथा डुबानको उच्च जोखिममा रहेको फत्तेपुरका स्थानीयबासीहरु बर्षौंदेखि बाढी तथा डुबानको चपेटामा पर्दै आएका छन् । बाढी प्रभावितहरुले सरकारसँग वर्षाैंदेखि नदि कटान तथा डुबान नहुने सुरक्षित स्थानमा घरबासका लागि जग्गा उपलब्ध गराउन माग गर्दै आएका छन् । तर, सुरक्षित स्थानमा पुनःस्थापना हुन नसकेका कारण प्रभावित परिवार सामुदायिक वनमा टहरा बनाएर कष्टपुर्ण अवस्थामा बस्न बाध्य भएको राप्ती सोनारी गाउँपालिका वडा नं.७ का रामलखन थारुले बताए । बाढी प्रभावितहरुले सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्था नगर्दासम्म सामुदायिक वनमै घर टहरा बनाएर बस्ने बताएका छन् ।
यो वर्ष आएको बाढीबाट बाँकेमा १ हजार ३०० घर पूर्णरुपमा क्षतिग्रस्त हुँदा ६ हजार ११६ जना विस्थापित भई बस्ती नजिकको जंगलमा बस्दै आएका छन् । सरकारले सुरक्षित स्थानमा बसोबासको व्यवस्था नगर्दै जिल्ला वन कार्यालयले वन अतिक्रमण गरेको भन्दै हटाउनका लागि सूचना जारी गरेपछि बाढी प्रभावितहरु थप समस्यामा परेका छन् । बाढी प्रभावितका नाममा हालसम्म करिब २८ हेक्टर वन अतिक्रमण भई सकेको बाँकेका जिल्ला वन अधिकृत पुष्पराज बर्ताैलाले बताए । अतिक्रमण गरिएको वन क्षेत्रबाट अतिक्रमण हटाउनका लागि प्रयास भए पनि चुनावको मुखमा अतिक्रमण गरी बनाएको घरटहरा नहटाउन सत्तारुढ दलबाटै तीब्र दबाब परेको उनले बताए ।