विद्यालयमा महिनावारी : खोजौँ अब जिम्मेवारी

विद्यालय जाँदै गरेका कलिला किशोरीहरूलाई हामी पढ्न गइरहेको मात्र देख्छौं । भविष्य चम्काइरहेको मात्र ठान्छौं । तर उनीहरू विद्यालयमा पढ्न मात्र होइन, पीडा भोग्न पनि गइरहेका छन् । विद्यालयको अत्यासलाग्दो भोगाइको विषयमा न उनीहरूले बताए, न हामीले सोध्यौँ । एकदुई जना होइन, देशभरका विद्यालयमा पढ्ने लाखौँ कलिला किशोरीहरूको साझा कथा हो यो ।


  • करुणा देवकोटा



११ वर्षको उमेरमा पहिलो पटक महिनावारी हुँदा म ७ कक्षामा पढ्थेँ । त्यसबेला मलाई महिनावारीबारे केही थाहा थिएन । शारीरिक दुखाइको पीडा त छँदैथियो, त्योभन्दा बढी दुःख दिने अनेक उत्सुकताहरू थिए । तर तिनका जवाफ मसँग थिएनन् । म खूब डराएँ, छट्पटाएँ । त्यसपछिका हरेक महिना आउने आफूभित्रको आँधिबेहेरी एक्लै सामना गर्न वाध्य भएँ । महिनावारीका विषयमा साथीसंगी, आफन्त र शिक्षकहरूसँग खुल्नु ठूलै सकस र लाजको विषय थियो । लाग्थ्यो, त्यो असजिलो पीडाबाट गुज्रिने म मात्रै हुँ । स्कुले जीवनमा महिनावारी हुँदाका अत्यासलाग्दा दिनहरु मैले लाजले लुक्दै, पीडाले छटपटाउँदै र डरले काम्दै कटाएकी छु । महिनावारी सुरु भएपछि १२ कक्षासम्मको छवर्षे स्कुल जीवनमा लगभग ७२ पटक मलाई महिनावारीको पीडाबाट गुज्रिनुपर्यो । मैले भोगेका केही पीडाहरू प्राकृतिक थिए । तर धेरै पीडाको कारक समाज र संस्कार थियो ।
त्यसबेला लाज र सकस बनेको यो विषय अहिले मेरो खोजी र चासो भएको छ । आजका स्कुले बहिनीहरुका उस्तै पीडा खोज्दै म विभिन्न विद्यालयहरुमा पुगेँ । खोज्दै र सोध्दै जाँदा थाहा पाएँ, त्योबेला मैलेजस्तै पीडा भोग्ने बहिनीहरु अहिले पनि धेरै रहेछन् । महिनावारी सरसफाइ र सुरक्षामा काम गरिरहेको संस्था नेपाल प्रजनन् केन्द्रले निकालेको तथ्यांकअनुसार नेपालमा लगभग २ लाख स्कुले छात्राहरुले विद्यालयमा शौचालयको सुविधा पनि पाएका रहेनछन् । उनीहरूलाई महिनावारीको बेला विद्यालय नै यातना शिविर झैं लागिरहेको रहेछ । मलाई लाग्यो, समस्या समाधानका लागि जिम्मेवारहरुलाई अब मैले नै घच्घच्याउनु पर्छ । स्कुल गइरहेका कलिला किशोरीहरूले प्रत्येक महिना ५-६ दिनसम्म हुने रक्तश्रावको समय कसरी कटाइरहेका छन् त ? थुप्रै स्कुले बहिनीहरूले मलाई बताएकामध्ये केही प्रतिनिधि जवाफ यस्ता थिए ः
१. स्कुलमा स्यानिटरी प्याडको व्यवस्था हुँदैन ।
२. अत्यधिक रक्तश्राव भएर कक्षा छोड्नुपर्छ ।
३. प्रयोग भएका प्याडहरु फ्याँक्ने ठाउँ हुँदैन ।
४. विद्यालयमा छात्रामैत्री शौचालय र पानीको व्यवस्था छैन ।
५. सँगै पढ्ने केटाहरुको भन्दा कमजोर आत्मविश्वास लिएर बस्नुपर्छ ।
६. घरमा हुने छुवाछुतको असरले विद्यालयमा पनि पिरोलिरहन्छ ।
७. शिक्षक र साथीहरूले कुरा नबुझ्दा झन् बढी तनाव हुन्छ ।
८. बेस्सरी पेट दुख्छ, ढाड दुख्छ, पढ्न मन लाग्दैन र निराश लागेर आउँछ ।
९. परीक्षाका बेला महिनावारी हुँदा राम्ररी लेख्न सकिँदैन, नम्बर कम आउँछ, शिक्षक, साथीसंगी र अभिभावकहरूबाट पढाइ खस्काएको दोष खेप्नुपर्छ ।
१०. महिनावारी हुनु प्राकृतिक भए पनि मानिसहरूले बनाएका कृत्रिम संस्कारले हामीलाई दुःख दिएको छ । यसको दोषी घरपरिवार, समाज र विद्यालय प्रशासनसँग चुपचाप भएर ठीकठाक देखिनुुपर्छ ।
यी समस्याहरू झण्डै एक दशकअघि मैले भोगेको भन्दा फरक थिएनन् । यस्ता समस्या समाधानका प्रयासहरू पनि भएका छन् कि भन्ने कौतुहलता जाग्यो । खोज्दै जाँदा भरतपुर, चितवनको नयाँ किरण माविले गरेको प्रयासले मलाई आशाको नयाँ किरण देखायो । यो विद्यालयमा पानी सहितको शौचालय रहेछ । शौचालयमा महिनावारीका बेला प्रयोग भएको स्यानिटरी प्याड फ्याँक्ने प्वाल पनि बनाइएको रहेछ । भित्रबाट फ्याँकिएका प्याडहरू बाहिरपट्टि हावा खेल्ने र घाम पर्नेगरी बनाइएको यो ट्याङ्कीमा जम्मा हुँदारहेछन् । बेलाबेलामा आगो लगाएर प्याडहरू जलाइँदोरहेछ । यो शौचालय बन्नुअघि प्रत्येक दिन महिनावारीको अवस्थामा हुने ३५ देखि ४० छात्रामध्ये आधा जति महिनावारीका बेला विद्यालय नआउने वा आए पनि विदा मागेर घर जाने गर्दा रहेछन् । तर डकर्मी काम समेत जानेका विद्यालयकै शिक्षक भवानीप्रसाद शर्माले खेर गएका ईट्टा र सिमेन्टको उपयोग गरी ५ सय रुपैयाँको लागतमा पुरानै शौचालय बाहिर प्याड ट्याङ्की बनाएछन् ।
भित्तामा प्याड फ्याक्न मिल्नेगरी प्वाल पारेपछि यो शौचालय छात्रामैत्री भएछ । आवश्यक स्यानिटरी प्याडहरुको व्यवस्था विद्यालयमै गरिएछ । त्यसपछि यहाँ पढ्ने कुनै पनि छात्रालाई महिनावारीका बेला विद्यालय छाड्नुपरेनछ । यो शौचालय बनेपछि चितवन जिल्लाभित्रका मात्र होइन, पूर्वी नेपालका कतिपय जिल्लाहरूदेखि सुदूरपश्चिमका कैलाली, अछाम, डोटी र बझाङसम्मका विद्यालयप्रशासक र अभिभावकहरू हेर्न आएका रहेछन् । पुरानै शौचालयमा पाँच–सात हजार रुपैयाँ थपेर पूरा गर्न सकिने यस्तो प्रबिधिका शौचालयहरू अहिले ठाउँठाउँमा बन्दै रहेछन् । महिनावारीको अत्यासलाग्दो असर भोग्न बाध्य बहिनीहरुको पक्षमा राजधानी काठमाण्डौका केही विद्यालयहरू पनि अग्रसर देखिएका रहेछन् । विद्यालयमा अध्ययनरत बहिनीहरुले पनि परिवर्तन महसुस गर्न पाएको बताए । यिनीहरूको कुरा सुनेर म धेरै आशावादी भएको छु । देशभरका सबै स्कुले बहिनीहरुलाई महिनावारीमा पनि विद्यालय जाऊँजाऊँ लाग्ने वातावरण बनाउने काम गर्ने कति ठूलो अवसरले तपाईंहामी सबैलाई पर्खिइरहेको रहेछ !