प्रदेश नं. ५ को राजधानी दाङ : पुन

प्यूठान, २६ भदौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व अर्थमन्त्री वर्षमान पुनले प्रदेश नं. ५ को राजधानी दाङमा हुने बताएका छन् । सोमबार प्यूठानको जुम्रिमा पत्रकारहरुसँग कुरा गर्दै नेता पुनले प्रदेशको राजधानी दाङमै हुने धारणा व्यक्त गरेका हुन् । पत्रकारहरुको जिज्ञासामा पुनले दाङमै राजधानी बनाउनका लागि उच्च अदालत, प्रदेश प्रहरी, नेपाल टेलिकम, आयम निगम लगायतका प्रादेशिक कार्यालय दाङमा बन्ने निश्चित गरिएको उनले बताए ।
भौगोलिक अवस्थासँगै आधारभूत कुराहरु समेत दाङमा बनिसकेकोले दाङमै प्रदेशको राजधानी हुने पुनले बताए । एक अर्को प्रसंगमा नेता पुनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संधोधन आवश्यक रहेको बताएका छन् । संविधान संशोधन नयाँ जनादेशका साथ हुने उनले उल्लेख गरे ।
संविधान गतिशील दस्तावेज भएकाले सन्तुलित परराष्ट्र नीतिका साथ राष्ट्र र राष्ट्रियताको आधारमा संविधान संशोधन हुने उनको भनाइ छ । संविधान संशोधनका यीनै एजेण्डालाई लिएर आफूहरु जनता माझ जाने उनले बताए । ५ नं. प्रदेशका इन्चार्जसमेत रहेका नेता पुन दलित मुक्ति मोर्चाको ५ नं. भेलालाई सम्बोधन गर्न प्यूठान पुगेका हुन् ।