जिल्ला अस्पतालमा जटिल प्रसूती सेवा शुरु

रोल्पा, २६ भदौ । जिल्ला अस्पताल रोल्पामा जटिल प्रसूती सेवा शुरु भएको छ । दक्ष डाक्टर नहुँदा गएको वैशाख अन्तिम हप्तादेखि सन्चालन हुन नसकेको यो सेवा केही दिन अघिदेखि खुलेको हो । सेवा बन्द हुँदा सेवाग्राही शल्यक्रियाका लागि जिल्ला बाहिर जान बाध्य थिए । सेवा सन्चालन भएसँगै तीनवटा जटिल प्रसूतीको शल्यक्रिया गरिएको जिल्ला अस्पताल रोल्पाका डाक्टर अनिल केसीले जानकारी दिनुभयो । सेवा सन्चालन गर्न नयाँ डाक्टर भर्नाका लागि कसैले आवेदन नदिएकाले लामो समयसम्म सेवा अवरुद्ध भएको अस्पतालले जनाएको छ । अस्पतालमै रहेका डाक्टरलाई जटिल प्रसूतीसम्बन्धी तालीम दिएपछि जटिल प्रसुती सेवा शुरु गर्न सकिएको जिल्ला अस्पताल रोल्पाले बताएको छ ।